खसहरुको नेपाल प्रवेश


–डा बिपिन अधिकारी
प्राचिन उद्गमस्थल–ककेसस
सर्सर्ती हेर्दा नेपाल भन्दा करिब पाँच हजार किलोमिटर उत्तरपश्चिममा रहेको युरोप तथा एशिया महादेशको सीमामा रहेको ‘ककस’ वा ‘ककेसस’ नामको भूराजनैतिक क्षेत्रसंग खस जातिको अतित जोडिएको देखिन्छ । यो क्षेत्र ककेसस पर्वतमाला रहेको क्षेत्र हो । युरोपको सबैभन्दा उच्च शिखर माउण्ट एल्ब्रस यहीं पर्दछ । यो क्षेत्र आधुनिक टर्की, इरान र रुसको सेरोफेरोमा रहेको भूभाग हो । यी तीनै मुलुकहरुले ककेससलाई प्रभावित गर्दै आएका छन् ।
शदियौंदेखि ककेसस क्षेत्र राजनीतिक, सैनिक तथा सांस्कृतिक द्वन्द एवम् विस्तारवादको पकडमा रहँदै आएको इतिहासले देखाउछ । यो क्षेत्रमा अर्मेनिया, अल्बानिया, कोल्चिन तथा आइबेरिया जस्ता ऐतिहासिक अधिराज्यहरु पनि देखा परेका थिए । कालान्तरमा ती अधिराज्यहरु इरानी साम्राज्यका अंग हुन पुगे । ती क्षेत्रहर मेदिआ, अचाएमेनिद साम्राज्य, पार्थियन साम्राज्य तथा सांस्सानिद् साम्राज्यमा मिसाइएका थिए ।
प्राचिन ककेशीयामा रहंदा ककेशीयनहरुले धार्मिक आकार लिइ सकेको पाइदैन । तर यो बृहत् ककेसस क्षेत्रबाट इरानी साम्राज्य हुँदै त्यहाँका ककेशीयन बासिन्दाहरु हजारौं वर्ष अघिदेखि नै पूर्व दक्षिणतर्फ बसाई सर्न शुरु गरिसकेका थिए । यसमध्येका केही समूह हिमवत खण्ड तथा नेपाल तर्फ लागेका थिए । उनीहरुले आफ्नो ठाउ किन छाडे भनेर बुझ्न सकिने कारण भेटिएको छैन । ऐतिहासिककालमा ककेसस क्षेत्रले धार्मिक प्रतिद्वन्दिता पनि खप्नु परेको देखिन्छ । खास गरी मध्य युरेसियामा पर्ने मुलुक पर्सिया वा इरान तथा रोमबीचको प्रतिष्पर्धा तथा हानाथाप र यसपछि इसापूर्व ६६७ वर्ष अघिको प्राचिन ग्रीक नगरराज्य बाइजेन्टियनसंगको द्वन्द त्यसबेलाको इतिहासमा उल्लेख भएका विषय हुन् ।
पर्शियाको पुरानो नाम अकामेनिद साम्राज्य हो । यो साम्राज्य इसापूर्व ५५० वर्षदेखि ३३० वर्षसम्म अस्तित्वमा रहेको थियो । पश्चिमी पर्सियामा इराकको सिमानानिर ‘कस’ हरुको बसोबास गरेको स्थानलाई अहिले पनि ‘खशिस्थान’ भनिन्छ । रोमन राज्य भने इसापूर्व एक शताब्दिदेखि नै विशाल साम्राज्यमा परिणत भइसकेको थियो । पछि गएर अजरबैजान, अर्मेनिया तथा जर्जीयाजस्ता मुलुकहरुले इसाइ धर्म अपनाएका कारण जोराष्ट्रियन धर्मले ककेसस क्षेत्रमा आफ्नो प्रभाव गुमाउदै गयो ।
पर्सिया राज्यमाथि इस्लामले विजय हासिल गरेपछि ककेसस क्षेत्र अरबहरुको नियन्त्रणमा पुगेको देखिन्छ । धेरैपछि आएर यो क्षेत्रमा सेल्जोक, अटोमान तथा मंगोल लगायत केही स्थानीय अधिराज्यहरुले पनि शासन गरे । गत शताब्दिमा रुसले यसलाई आफ्नो राज्यमा गाभेपछि मात्र त्यहाँको अस्थिरता समाप्त भएको देखिन्छ । सोभियत संघको पतनपछि सन् १९९१मा जर्जीया, अजरबैजान तथा अर्मेनीया स्वतन्त्र भए । तथापि आज पनि त्यस क्षेत्रलाई ककेसस भन्ने चलन छ ।
यही ऐतिहासिक क्रममा ककेसस क्षेत्रबाट दक्षिण–पूर्व हुँदै कैयौं शताब्दिको अन्तरालमा यस हिमवत खण्ड तथा नेपालमा आइबसेका आदि ककेसियनहरु नै खस जाति भएको देखिन्छ । उनीहरु यस हिमवत् खण्डमा स्थापित भइसक्दा दक्षिण तर्फको मैदानी क्षेत्र वा गंगा ब्रम्हपुत्रको मैदानमा सिन्धु उपत्यकाको सभ्यता विकसित भैसकेको थिएन । सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको ’round स्थापित सभ्यता कास्य युग (इसापूर्व ३३०० देखि १३००) मानिन्छ । यो सभ्यताको उन्नत अवधि भनेको हरप्पाको युग हो । हालको उत्तर पूर्वी पाकिस्तानको पन्जाव क्षेत्रमा हरप्पाको सभ्यता देखिएको हो । त्यहाँ आर्य जातिको बसोवास देखिनुभन्दा पहिले नै खसहरु नेपाल लगायतका हिमवत क्षेत्रमा देखापरिसकेका थिए । यसबाट खसहरु आदिवासी हुन् भन्ने तथ्यमा कुनै शंका गर्ने ठाउ बाँकि रहँदैन ।
आर्यहरुलाई कतिपय इतिहासकारहरुले हिन्दूस्तानमा आक्रमण गर्न आएको जातिको समूह मान्दछन् । उनीहरु १५०० देखि १००० इसापूर्वमा भारततर्पm प्रवेश गरेको मानिन्छ । तर खसहरुका ’boutमा यस प्रकारको तर्क गरिएको छैन । यसको कारण के हो भने उनीहरु भन्दा केही सहस्राब्दी अघि नै जंगली एवं घुमन्ते जातिका रुपमा खसहरु नेपाल पुगिसकेको थिए । उनीहरु भारत आउदा रथ वा घोडा चढेर आएजस्तो नेपाल आउने संभावना पनि छैन । त्यस्तो दाबी कसैले गरेको इतिहासमा देखिदैन ।
खसहरु अधिकांश पहाडै पहाडको बाटोबाट अगाडि बढेको देखिन्छ । त्यस्तै उनीहरुको बसार्ई सराइ ठूलो संख्यामा भएको पनि देखिदैन । हिमवत् खण्ड वा नेपाल बाहेकका गंगा ब्रम्हपुत्रको मैदान वा सिन्धु उपत्यकामा खसहरुको स्पष्ट रुपमा कुनै उपस्थिति देखिदैन । यसको अपवादका रुपमा कुशीनाराका मल्लहरुलाई लिन सकिन्छ । उनीहरु खस जातिका भएको भनिएको छ । तर सामान्यत हिमवत् खण्डका खसहरुको तलका मैदानी फाँटका आर्यहरु तथा त्यहाँको सभ्यतासंग संगत हुन लागेको केही शताब्दि मात्र भएको देखिन्छ । यसलाई पुष्टि गर्ने वैदिक तथा पौराणिक आधारहरुको कमी छैन ।
पश्चिम चीनतर्फको यात्रा
ककेसस पर्वतमालाबाट लामो यात्राका क्रममा ककेसियनहरु पश्चिम चीनतर्फ पुगेको तथ्यलाई ऐतिहासिक स्रोतहरुले पुष्टि गर्छन् । जे पी मालोरी तथा भिक्टर एच मायरले लेखेको पुस्तकमा सफा रोगन भएको हल्का कालो वा कैलो कपाल भएको जाति ऐतिहासिककालमा पश्चिम चीनको सिन्जियाङ क्षेत्रमा बसोबास गरेको उल्लेख छ । यो क्षेत्र योगुर स्वायत्त क्षेत्रमा पर्दछ । उनीहरुका भनाइमा ः
The strange creatures of the shanhai jing (…) we find recorded north of the territory of the “fish dragons” the land of the whites (Bai), whose bodies are white and whose long hair falls on their shoulders. such a description could accord well with a Caucasoid population beyond the frontiers of ancient china…
पश्चिम चीनको योगुर स्वायत्त क्षेत्रको तरिम उपत्यकाको कासगरमा ककेसियनहरुको उपस्थिति प्रष्ट देखिन्छ । ‘कासगर’ भन्नु र ‘खसगर’ भन्नु एउटै हो । त्यहाँ आज पनि खसहरुको उपस्थिति छ । तरिम उपत्यका करिव ३ लाख ५० हजार वर्ग किलोमिटरमा फैलिएको क्षेत्र हो । यो आधुनिक चीनको सिन्जीयाङमा पर्दछ । यस उपत्यकाको ठूलो भागमा ताक्लामकान मरुभूमि छ । यहाँको बस्ती पातलो छ । तर छरिएर रहेका योगुर, टर्किस तथा ताजेक्सहरु यहाँ रहन्छन् । यिनीहरु बसाइ सराइका क्रममा दक्षिण साइबेरिया हुँदै यस क्षेत्रमा आएका हुन सक्छन् । त्यहाँ पाइएको मानव मृत शरीरको डि एन ए अध्ययनले पनि कास्य युगदेखि नै त्यहाँ प्राचिन ककेसियनहरुको उपस्थिति रहेको देखाउछ ।
योगुर स्वायत्त क्षेत्र खसहरुको अन्तिम मुकाम रहेन । बसाई सराइका प्रक्रियामा उनीहरु अगाडि बढ्दै गएको देखिन्छ । उनीहरुले प्रयोग गरेको बाटो रेसम व्यापारी हिंड्ने बाटो नै हो । यो बाटोलाई विश्व इतिहासमा सिल्क रोड पनि भनिएको छ । यो प्राचिनकालदेखि नै व्यापारीहरुले प्रयोग गर्ने बाटोको संजाल हो । अन्यत्रबाट आएका मान्छेहरु एसियातर्फ बढ्दै जाँदा पूर्व, दक्षिण तथा पश्चिम एशियालाई यस बाटोबाट भूमध्यसागरका छेउछाउका मुलुकहरुसंग जोडिएको हो । यहींबाट उत्तर तथा उत्तरपूर्वी अफ्रिका र युरोपसंग संपर्क हुन थालेको बुझिन्छ । खसहरुको बसाई सराईको यो बाटो गाउठाँउका नामहरुबाट प्रमाणित गर्न सकिन्छ ।
इसापछिको पहिलो तथा दोस्रो शताब्दिको बीचको अवधिमा तरिम उपत्यकालाई कुसान वंशले शासन गरेको बुझिन्छ । उनीहरुले त्यसबेला नै कासगर राज्य स्थापना गरेका थिए । त्यो क्षेत्रमा खसहरु नै बसोवास गर्दथे । यस क्रममा शासनमा रहेका कुसानहरुले त्यहाँ रहेका घुमन्ते तथा चिनियाहरुलाई पनि लगार्नु परेको थियो । ब्राम्ही लिपिको प्रयोग कासगरबाटै शुरु भएको मानिन्छ । यही कुसान क्षेत्रबाट खसहरु हिमवत् खण्डतर्फ लागेका थिए । यो हजारौं वर्ष अघिको कुरा हो । के मात्र ठोकुवा गर्न सकिन्छ भने कुसानहरुले त्यहाँ शासन गर्नुभन्दा केही सहस्राब्दी अघि नै हिमवत् खण्डमा खसहरु फैलिइ सकेका थिए । त्यहाँका अधिकांश स्थानीय खसहरुको आज इस्लामीकरण भैसकेको छ । अरबहरुले साम्राज्य फैलाउदा त्यो क्षेत्र मुसलमानहरुको प्रभावमा गएकाले त्यस्तो हुन गएको हो ।
पश्चिम भोटेली क्षेत्रमा खस बसोवास
खसहरु भोटेली क्षेत्रमा पनि बसोवास गर्दथे । उनीहरु तरिम उपत्यका हुँदै हिमवत् खण्डतर्फ आउने क्रममा भोटेली क्षेत्र प्रवेश गरेका हुन् । पश्चिम भोटमा खसहरु छँदा भोटको एकिकरण भैसकेको थिएन । यो एकिकरण शताब्दिऔं पछि आएर सातौं शताब्दिमा मात्र भएको हो । त्यस क्षेत्रको भोटली भाषामा गैरभोटेलीहरुलाई मोन्पा भनिन्छ । खासगरी त्यहाँ खस शासकलाई या–चे–पा र जनतालाई खा–चे–पा भन्ने चलन थियो । पश्चिम भोटमा ऐतिहासिककालदेखि कहिले मंगोल शासकहरुले त कहिले चिनिया सामन्तहरुले शासन गरेको पाइन्छ । त्यहाँको शासनमा खसहरुले पनि दाबी गरेको देखिन्छ ।
यात्र्सेका चक्रवर्ती खस राजा क्राधी चल्ल (ग्राग्स पा इदे), अशोक चल्ल (अ–सोग–इदे) जितारी मल्ल (जि दार स्मल), आनन्द मल्ल (ए नान स्मल) इत्यादिको भोटेली नाम पत्ता लागिसकेको छ । खस राजा देवराज र नागराज गुगे र पुराङका धार्मिक नेता मानिन्थे ।
२१ हजार वर्ष अघिदेखि भोटमा मानव जातिको बसोवास भएको मानिन्छ । खसहरु त्यस क्षेत्रको साङसुङ संस्कृतिसंग संबन्धित छन् । उक्त संस्कृतिको केन्द्र गुगे थियो । गुगे ‘बोन’ धर्मको उत्पत्तिस्थल मानिन्छ । यस धर्ममा राजाको दैवी अधिकार, जोखाना हेरेर राम्रो नराम्रो भन्ने वा भविष्यवाणी गर्ने चलन, धामी झाँक्रीप्रतिको धर्मनिष्ठता वा जडात्मवादी परंपरा, लोकरंजक विश्वास एवं टुनामुनाको प्रचलन अत्यधिक देखिन्छ । खसहरुले पनि यसैक्षेत्रमा रहँदा उक्त प्रचलनहरु सिकेका हुन् । हुन सक्छ, साङसुङ संस्कृति र बोन धर्म दुवैमा खसहरुको सांस्कृतिक लगानी रहेको होस् । यसका लागि अतिरिक्त अध्ययनको आवश्यकता छ ।
करिव २१ सय वर्ष अगाडि यही क्षेत्रको यार्लुङ उपत्यकामा एउटा नयाँ राज्य पनि कायम भएको थियो । यो राज्यका राजा ‘दिगुम त्सेम्पो’ ले साङसुङ संस्कृतिको प्रभाव क मगर्न प्रयास गर्दा त्यहाँका बोन पण्डितहरु भागी हिंडेको कुरा इतिहासमा उल्लेखित छ । पछि सातौं शताब्दिमा राजा सोङ्गत्सेन गाम्पो (सन् ६०४–६५०) ले भोटको एकिकरण गरेपछि बोन संस्कृति कमजोर हुँदै गयो । यसको ठाउ क्रमश बुद्ध धर्मले लिन थाले पनि बोन संस्कृति समाप्त नै भने भएन । बरु एकअर्कालाई मिसाउदै मिश्रित सांस्कृतिक पहिचान स्थापित हुँदै गयो । यिनै राजा सोङ्गत्सेन गाम्पोसंग राजा अंशुवर्मा (कसैकसैले राजा जयदेव पनि भन्दछन्)ले आफ्नी छोरी भृकुटीको बिहे गरिदिएका थिए ।
बोन संस्कृति तथा फलामे युगबीचको संबन्ध उत्तरपश्चिम भोटको च्याङताङ पठारको अध्ययनबाट पुष्टि भैसकेको छ । विशेष गरी पहाडको चुप्पोमा गढी (सैनिक ब्यारेक) तथा ढुंगाका गोलमन्दिरहरु निर्माण गर्ने, गोलघर बनाउने, झ्यालको प्रयोग क मगर्ने, ढुंगाको चोइटाले छाना छाउने तथा राजा र जनता बीचको फरक स्तर स्वीकार गर्ने परंपरा र घोडा प्रयोग गर्ने संस्कृतिका आधारमा यस्तो विश्लेषण गरिएको हो । नेपालका खसहरुमा पनि यो प्रभाव कायमै छ ।
पश्चिम भोटतर्फ रहँदा खसहरुको केन्द्र कहाँ थियो भन्ने विषयमा अहिले पनि अन्दाज गर्न सकिने स्थिति छैन । पश्चिम भोटमा गैरभोटेली मोन र दार्द जातिको उपस्थिति अनुसन्धान भइसकेको कुरा हो । होचा पर्वतीय क्षेत्रमा बस्ने खस जाति समेतलाई मोन भनेको हुनसक्छ । त्यहाँ खसहरुको उपस्थिति रहे नरहेको ’bout इतिहासमा प्रष्ट रुपमा आएको छैन । तर प्राचिन भोटेली पुस्तकहरुले खसहरुका राजा गैरभोटेली भएको उल्लेख गरेका छन् । यसमा कुनै विवाद छैन । नेपाल आइपुग्नु भन्दा अघिको खसहरुको एउटा समुदायले ताक्लाकोटलाई आफ्नो राजधानी बनाएको भन्ने ऐतिहासिक प्रमाण प्राप्त छ ।
ताक्लाकोटलाई भोटेली भाषामा ताक्लाखर पनि भन्दछन् । यो हाल भोटको पुराङ क्षेत्रमा पर्दछ तथा घाँग्री (कैलाश शिखर) को दक्षिणतर्फ अवस्थित छ । यो प्राचिन ब्यापारिक नाका हो । यो सिल्क रोडमा पर्दछ । त्यसदेखि मास्तिरको गुगेका राजाहरु पनि खसहरु नै थिए । यस बाहेकको उत्तरतर्फ खसहरुको कुनै गढ भएको लिखित प्रमाण पाइदैन ।
पश्चिम भोटमा पनि बहुसंख्यक खसहरु घुमन्ते जातिकै रुपमा थिए । संभवत उनीहरु गाइवस्तु वा भेडा लिएर हिंड्न थालिसकेका थिए । त्यस अवस्थामा पनि निश्चित रुपमा खसहरुको कुनै स्थापित धर्म भएको प्रमाण छैन । घुमन्ते–फिरन्ते जातिका रुपमा धामी झांक्री मान्ने परंपरा उनीहरुमा व्यापक रुपमा देखिइसकिएको थियो । झारफुक गर्ने व्यक्तिहरुले नै धार्मिक अनुष्ठानहरु गराउथे । खस समाजमा इश्वर र मानिसवीचको संवाद धामीझाँक्री मार्फत नै हुन्थ्यो ।
नेपालीमा अति उत्तम कल्पवृक्ष भनी लेखिने गरेको प्रशिद्ध भोटेली वंशावलीमा खसहरुका वारेमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । उनीहरुलाई उल्लेख गर्दा यवन, कम्बोज, हुँड, दारद इत्यादि जाति संगसंगै उल्लेख गरिएकाले यी सबै जातिहरु त्यसबेला यस क्षेत्रमा प्रामाणिक रुपमा रहेको मान्न सकिन्छ ।
क्रमशः
(सबैलाई बहुतै चासो छ, वास्तवमा खस जाति भनेका को हुन् ? उनीहरुलाई किन खस भनिएको हो ? यो जातिको प्राचीन इतिहास कस्तो छ ? उनीहरुको जातीय पहिचान कुन रुपमा स्थापित हुँदै आएको छ ? राष्ट्र निर्माणमा उनीहरुको लगानी कति छ ? यस प्रक्रियामा भएका कमी कमजोरीहरु के के हुन् भन्ने प्रश्नहरु महत्वपूर्ण छन् ।
यसै पृष्ठभूमिमा डा विपिन अधिकारीले तयार पारेको ‘नेपालका खस जाति’ वारेको पुस्तिका रोचक, पठनीय र ज्ञानवद्र्धक छ । यसै पुस्तिकामा प्रकाशित सामाग्री आमपाठकलाई जानकारी दिने उद्धेश्यले लेखकको स्वीकृतिमा सदृश्य डटकमले प्रकाशित गरिरहेको छ । प्रस्तुत सामाग्री दोस्रो खण्डको पहिलो अंशको रुपमा प्रस्तुत गरिएको छ । आउदो अंकमा ‘नेपालमा खस कसरी आए’ प्रकाशित गरिने छ –संपादक )
