डा गोविन्द केसीको सत्याग्रह अब काठमाडौँमा
डा गोविन्द केसीले सत्याग्रह अब काठमाडौँमा नै गर्ने भएका छन्। जुम्लाबाट आज नेपालगंज पुगेका केसी भोलि काठमाडौँ आइपुगे पछि सत्याग्रहलाई निरन्तरता दिने बताएका छन्।
डा. केसीको प्रेस विज्ञप्ति
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन ।
बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।
दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन्।
त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं ।
यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं।
डा गोविन्द केसी
जुम्ला२०७७ असोज ५