सोमबार १ हजार ३५१ जनामा कोरोना संक्रमण,उपत्यकामा मात्र ८१७

काठमाडौँ, १२ असोज : पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ भने २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ।