ओली सरकारलाई सबै दल मिलेर घेर्नुपर्छ: देउवा

काठमाडौं, असोज १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै राजनीतिक दल मिलेर अब घेर्नु पर्ने बताएका छन्।

कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले सोमबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारलाई सबै राजनीतिक मिलेर अब घेर्नु पर्ने बताएका हुन्। उनले कम्युनिष्ट सरकारले जनतालाई दु:खमात्रै दिने काम गरेको बताए। 

‘कम्युनिष्ट सरकारले जनतालाई दु:ख दिइरहेको छ। हाम्रा साथीभाइलाई धरपकड गर्ने काम गरिएको छ,’ उनले भने।  उनले धेरै ठूलो भ्रष्टाचार गरेर सरकारले जथाभावी गरिरहेको आरोप लगाए। ठूला भ्रष्टाचारकाण्डका विषयमा आवाज उठाउनेहरुलाई थर्काएर, तर्साएर राख्ने काम सरकारले गरेको उनको आरोप छ। ‘यति ठूलो भ्रष्टाचार भइरहेको छ।  तर, भ्रष्टाचार भयो भनेर भन्न पनि नपाइने भयो,’ उनले भने,‘भ्रष्टाचार भयो भन्नेहरुलाई सरकारले थर्काएर, तर्साएर राख्ने काम गरिरहेको छ।’

उनले कांग्रेस सरकारका पालामा आफूहरुले कसैलाई दु:ख नदिएको पनि बताए। ‘हामी सरकारमा हुँदै कसैलाई दु:ख दिएका थिएनौं। अहिले कर्मचारीलाई सरकारले दु:ख दिइरहेको छ,’ उनले भने,‘संसदको विषेश अधिवेशन बोलाएर भए पनि ओली सरकारलाई अब तह लगाउनु पर्छ।’