उपत्यकामा १०१७ सहित मंगलबार १५५१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २० असोज : मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५०९ महिला र १०४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार उपत्यकामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ जसमा काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना छन् । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ भने सक्रिय संक्रमित २२ हजार ७०९ छ जसमा १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। यीसहित हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।