निर्णायक

विभिन्न आधार र मापदण्ड तयार गरिसकेपछि सम्मानका गठित सिफारिस समितिको बैठक अन्तिम पटक बस्यो । बैठकमा विविध विधाका अध्येता, प्राध्यापक र विज्ञहरु सहभागी थिए । बैठक शुरु भएपछि उपस्थित सबैले पालैपालो आआफ्ना विचार राखे । सम्मान गर्नुपर्ने व्यक्ति, तिनको परिचय र योगदानको संक्षेपमा चर्चा गर्दै यसपालि तिनलाई सम्मान गरे संस्थाको गरिमा उच्च हुने बताए ।

एउटाले भन्यो – फलाना कवि यसपटकको सम्मानका लागि उपयुक्त हुन्छ ।

अर्कोले भन्यो – ढिस्काना कथाकारले पाँच दशकभन्दा बढी सेवा गरेकाले उनलाई दिंदा बेश हुन्छ ।

फेरि अर्कोले भन्यो – निबन्धकार फलाना पनि सम्मानका लागि सा¥है योग्य छन् है ।

एकजना सहभागी बोल्यो – फलाना उपन्यासकार सबै दृष्टिले यसपटक सम्मानका लागि उपयुक्त छन् ।

यसैगरी अर्को बोल्यो – समालोचक फलानालाई पनि बिर्सनु हुन्न है ।

यसप्रकार समितिका अन्य सदस्यहरुले केही थप सम्भावित नाउँहरु उच्चारण गरे ।

अन्तमा सम्मान समितिका संरक्षक महोदयले भने – तपाइँहरुले उच्चारण गर्नुभएका नाउँहरु सब योग्य छन् । दिनुपर्ने त्यसमध्येलाई नै हो । तर मेरो विचारमा यसपालि श्रीमान फलाना साहित्यसेवीलाई दिंदा उपयुक्त होला जस्तो छ । उहाँको योगदान अरुको भन्दा फरक पनि छ । के छ यहाँहरुको विचार ?

संरक्षक महोदयले नाउँ नै किटेर प्रस्ताव राखेपछि सबैको मुखमा बुजो लाग्यो ।

सबैले सहमति जनाए ।