अनि कवि रोयो


आफूले रोपेको बिरुवाले आफैलाई चिनेन
फल अर्कैले टिप्यो बिरुवा बोलेन
मीठो पानीको सरोबरमाझ प्यासो कवि
खोज्यो किन्तु कतै रुने ठाउँ पाएन
अनि कवि रोयो
देवघाटमा कालीगङ्गा र त्रिशूलगङ्गा भेट हुँदा
जब कविको रोदनमा समवेत रोए
बीच सहरमा घोर जङ्गलराज देखेर
जब मैनाचरी रोयो
मान्छेले मान्छे खाएको देखेर
तलेजु मन्दिरको टुंडाल रोयो जब
अनि कवि रोयो
जब सैनिक मन्चको तमासामा
रत्नपार्कमा भोक रोयो
प्यादालाई पर्वतमाथी देखेर जब चरी रोयो
शिकारीहरुको गोप्य बैठक देख्दा
आसन्न खतराको पूर्वानुमानमा जब मृगिणी रोयो
जब मानवताले नचिन्ने पात्र
मानव अधिकारको प्रवक्ता बन्यो
अनि कवि रोयो
बरु आँपको बीज रोप्दा नीम जन्म्यो
परन्तु कविको रोदनले अनुमोदन पाएन
जब जनले जन्माएको जनप्रतिनिधि
जनभन्दा अग्लो बनी जनार्दनमाथि भकुण्डो खेल्यो
जब कविको रुलाइ देखेर धौलागिरी बलिन्द्र रोयो
अनि कवि रोयो
“कुशासन” माथि बसी इमानको आचमन गरी
जब शासन कुशासन भयो
“पर्दानसी” जब पर्दाभित्रै बेपर्दा भयो
वाचालको वाचामा बाजिगरी इन्द्रजालले कुचाल खेल्दा जब साउनको भोकोलाई मङ्सिरसम्म कुर्ने आदेश भयो
अनि कवि रोयो
जब अबला बालामाथि हरिपले बलात्कार गर्‍यो
बालिकाको शरीर क्षेतबिक्षत हुँदा जब
शक्तिसीन रक्षकले संसारको रीत भनी मैलो टकटक्यायो
जब महान चाडका बखत
दुई रोटीका लागि सन्तती परदेश लाग्दा
विवश र लाचार आमा धरधरी रोयो
अनि कवि रोयो
प्रत्येक आगामी दिन सुदिन हुनेछ भनी
उदाउँदो सूर्यलाई अर्घ दिने “सूर्यभक्त”
बिहानीहरु मिथ्या रहेछन भन्ने बुझेर
जब मध्यदिनमा निराश भयो
नवसिर्जित सहस्र सम्राटहरु
जब चौतारी बजार र बस्ती बस्तीमा
मैमत्त नाङ्गै धन्य धन्य हुँदै
सलामी ग्रहण गरेका देखियो
अनि कवि रोयो