उपचार खर्च

मन्त्रीजी उपचार खर्चको हिसाब मिलाउन छोडेर पार्टीको विवाद मिलाउन पुगे । घण्टौ कार्यकर्ताहरुबाट घेरिएर बसे । असन्तुष्टसित लामै छलफल गरे । मिलेर सहमति गर्ने ’bout विधिन्न रणनीतिक तर्कहरु पेश गरे ।


कोरोनामय समय भएपनि कसैलाई भौतिक दूरीको त्यति ख्याल भएन । आफ्नै साथीहरुबीच पनि के को दूरी । कोरोना भन्दा पार्टीको कोलाहल साम्य पार्नु महत्वपूर्ण थियो । त्यसैले मुख्यमन्त्रीको सिङ्गापुरमा भएको उपचार खर्चको हिसाब मिलाउने जरुरी काम छोडेर उनी पार्टीको कोलाहल मिलाउन गएका थिए । त्यसो त केहीले मास्क लगाएकै थिए । छिनछिनमा स्यानिटाइजर दलेकै थिए ।


फर्केर आएपछि मन्त्रीजी उपचार खर्चको हिसाबकिताब ’bout तयार गर्नुपर्ने प्रतिवेदनमा जुटे । मुख्यमन्त्रीको उपचार खर्चमै सहयोगीको फाइवस्टार बसाइ, किनमेल, घुमघाम, भत्ता आदि सबै खर्च मिलाउनुपर्ने । मिलाउँदा मिलाउँदै उनी दिक्क भए ।


त्यसपछि खानपिन गरे । अलि थाकेजस्तो भएकाले आराम गरे ।


भोलिपल्ट टाउको मात्र होइन जीउ पनि अलि भारी जस्तो हुन थाल्यो । विसन्चो जस्तो भएपछि सल्लाहकारको सल्लाहमा कोरोना पो भो कि भनेर परीक्षण गराए । नभन्दै पोजेटिभ आयो ।
के गर्ने !


श्रीमतीको नाउँमा छुट्टै सुविधायुक्त घर भए पनि विशेष सुविधाको ख्याल गरेर मन्त्रीजी क्वारेन्टाइनको लागि फाइवस्टार होटलमा बस्न गए । त्यही होटलमा मन्त्रीजीले शहरका मेयर पनि क्वारेन्टाइनमा बसिरहेको देखे ।


त्यही राति नेपाल टेलिभिजनको समाचारमा सरकारका प्रवक्ता बोल्दै थिए – कोरोना भएका जनताले उपचार खर्च आफै बेहोर्नु पर्नेछ , सरकारले खर्च बेहोर्ने छैन ।