कोरोना संक्रमणबाट मोरङमा दुई शिक्षकको मृत्यु

विराटनगर, कात्तिक १८ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जना शिक्षकको ज्यान गएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार कोरोना संक्रमणबाट केराबारीस्थित मछिन्द्र मावि र विराटनगरस्थित जनपथ माविका शिक्षकको मृत्यु भएको हो। एक जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

मन्छिन्द्र माविका ५० वर्षीय शिक्षकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाका क्रममा आज बिहान मृत्यु भएको हो।
दुई साताअघि कोरोना संक्रमण देखिएपछि उनी होम आईसोलेसनमा बस्दै आएका थिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनी नसासम्बन्धी रोगबाट पीडित थिए।

त्यस्तै, जनपथ माविका ५४ वर्षीय शिक्षकको न्युरो अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो। उनलाई असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

केही दिन होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि विराट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कात्तिक १३ गते न्युरो अस्पतालमा रेफर गरिएको थियो।

न्यूरो अस्पतालमा उपचारका क्रममै उनको मृत्यु भएको जनाएको छ। उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। – काठमाडौँ प्रेस