बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत एक महिला र दुई पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेका मोरङका ५९ वर्षीय एक पुरुष रहेका छन्। कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको उनमा उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, राजविराज– १ सप्तरीकी २३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको उनमा रक्तअल्पतालगायतको समस्या रहेको थियो।

त्यसैगरी राजविराज– ८ सप्तरीका अर्का एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ६५ वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। – काठमाडौँ प्रेस

मृतक तीनैजनाको शव नियमअनुसार व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।