ओलीलाई सचिवालय बैठक बोलाउन अध्यक्ष प्रचण्डसहित पाँच नेताको लिखित माग

काठमाडौं, कात्तिक २२ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच जना नेताले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन्। 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सामूहिक रुपमा भेटेर अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले बैठक बोलाउन लिखित माग गरेका हुन्।  प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए। 

प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बोलाउन आफूहरुले लिखित पत्र बुझाएको र प्रधानमन्त्री ओलीले छलफल पछि बैठक आह्वान गर्ने बताएको जानकारी दिए। उनका अनुसार कोभिडका बेला भइरहेका कामको समीक्षा र पार्टी निर्णय कार्यान्वयन’bout छलफल हुनुपर्छ भन्ने’bout लिखित पत्र प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई बुझाइएको छ।

भेटमा प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको बताएका थिए। ‘म बैठकबाट भागेको छैन। अब छलफल गरेर बैठक आह्वान हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो। 

यसअघि अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बुहमत सचिवालय सदस्यको अनौपचारिक बैठकले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सामूहिक भेटेर बैठक बोलाउन लिखित पत्र बुझाउने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार प्रचण्डसहितका पाँच नेताहरु शनिबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार,  भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।