ओलीको सहमति बिनै प्रचण्ड-नेपाल समूहले बाेलायाे चार बजे सचिवालय बैठक

काठमाडौँ : तीन दिन कुर्दा पनि ओली सचिवालयको औपचारिक बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेपछि प्रचण्ड-नेपाल समूहले औपचारिक बैठक बोलाएको छ । प्रचण्डले मगंलबार दिउँसो चार बजे पार्टी मुख्यालयमा औपचारिक सचिवालय बैठकका लागि समय तोकेका छन्।

यसअघि ओलीले प्रचण्डलाई सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि धुम्बाराहीमा प्रचण्ड-नेपाल समूहको अनौपचारिकरुपमा सचिवालय बैठक बसेको थियो।

शनिबार प्रचण्ड-नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई बैठकका लागि सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएको थियो।

ओलीले त्यसैदिन आफू पनि कार्यकारी अध्यक्ष भएको र गुटीय बैठकले गरेको निर्णय र अनुरोधका आधारमा केन्द्रीय सचिवालय बैठकको मिती नतोक्ने अडान सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए।

त्यसयता पनि ओली बैठकका लागि सहमत हुने अपेक्षासहित प्रचण्ड-नेपाल समूहले प्रतिक्षा गरेपनि त्यसमा ओली तयार हुने सम्भावना कम देखेपछि आज धुम्बाराहीमा बैठक बोलाएको हो।

विवाद चर्किँदै गएकाले पार्टी एकता बचाउने गरी निर्णय लिनुपर्ने बाध्यता आफूहरु रहेको यो समूहका सदस्यहरुले बताउँदै आएका छन्।

खासगरी प्रचण्ड आफ्नो अपमान हुनेगरी बोल्न थालेको र पार्टी स्थायी कमिटी निर्णय उल्लंघन गरेकाले उनकाविरुद्ध चाल्ने कदममा संवेदनशील रहेको बुझिन्छ।

ओली र प्रचण्ड–नेपाल समूह पार्टी एकतालाई संकटमा पारेको आरोपप्रत्यारोपमा उत्रिरहेका छन्। राजदूत नियुक्ति प्रकरणबाट नेकपमा उत्पन्न विवाद हाल आएर पार्टीको कार्यकारी अध्यक्ष को हो भन्नेसम्ममा पुगेको छ।

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्वक कार्यान्वयनमा समस्या आएको भन्दै ओली र प्रचण्डको कार्यविभाजन र कार्यअधिकार तोकेको थियो।

कमिटी बैठकले ओली आगामी प्रतिनिधिसभाको कार्यकालभरी प्रधानमन्त्री भएर सरकारको कामकारवाहीमा केन्द्रित हुने, प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको कामकारवाहीमा केन्द्रित हुने निर्णय भएको थियो।

तर काम गर्दा एकअर्कासँग समन्वय गर्नुपर्ने भनिएकोमा ओलीले एकलौटी ढंगबाट काम गर्न थालेपछि प्रचण्ड-नेपाल समूह असन्तुष्ट बन्दै गएको हो।