लुम्बिनी प्रदेशमा आठ सय घरेलु हिंसा

लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

                चालू आर्थिक वर्ष २०७७÷७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार बाँकेमा २७२, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् ।

                त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४,अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा चार वटा घरेलु हिंसाका घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाइएको छ । उहाँका अनुसार कृषिमा आबद्ध परिवारका ४७७, गृहिणी २६८, ज्यामी २७, विद्यार्थी नौ, बेरोजगार १३, व्यापारी २०, कर्मचारी आठ र वैदेशिक रोजगारी एक जना रहेका छन् ।

                बैदवारका अनुसार हिंसापीडित हुनेमा ७३६ महिला रहेका छन्, भने ८७ जन पुरुष रहेका छन् । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ । यस्तै १६ देखि ३५ वर्षका ३७६, १६ देखि २५ वर्षसम्मका २२५, ३६ देखि ४५ वर्षसम्मका २०५, ४६ देखि ६० वर्षसम्मका १२३ जना हिंसापीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा २४९ जना महिला अभियुक्त छन् भने ६९६ पुरुष अभियुक्त रेहका छन्  ।

                सबैभन्दा धेरै जबर्जस्ती करणीका १५५, जबर्जस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, बालविवाहका चार, बोक्सीको आरोपमा छ, जातीय छुवाछूतका तीन, अप्राकृतिक मैथुन तीन, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका दुई, मानव बेचबिखनका छ र घरेलु हिंसाका मुद्दा दर्ता एक वटा दर्ता भएका छन् । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

चालकसँग कुराकानी अभियान

                प्रदेश प्रहरी कार्यालयले चालकसँग कुराकानी अभियान पनि शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा सोे कार्यक्रम सञ्चालन गरेको हो । मङ्सिर १४ गतेदेखि सो अभियान शुरु भएको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।

                चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको जाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, अधिक भार, तीब्र गति, मादकपदार्थ सेवन परीक्षण गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने बताइएको छ । – रासस