ओली-प्रचण्ड दुवैको प्रस्ताव स्थायी कमिटीमा पेश हुने

काठमाडौं, मंसिर २०  :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका दुवै प्रस्ताव स्थायी कमिटीमा पेश गरिने भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधान गर्न असफल भएपछि दुवै अध्यक्षका प्रस्ताव आइतबार बस्ने स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए। 

‘स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव पेश गरेर छलफल हुन्छ,’ बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता  श्रेष्ठले भने,‘पार्टीभित्रको संकट र समस्या निवारण गर्ने गरी छलफल अघि बढ्नेछ।’

उनले अब स्थायी कमिटीमा दुवै प्रस्तावमाथि गम्भीर रुपमा छलफल हुने र त्यहीबाट पार्टीभित्र देखिको विवाद र समस्या समाधान गरिने बताए। 

‘अब पार्टीभित्रको विवाद स्थायी कमिटीले नै हल गर्नेछ,’ उनले भने,‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको अर्को विकल्प छैन। विधि र विधान अनुसार हामी सबै हिँड्नु पर्छ।’ प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे पार्टी मूख्यालय धुम्बाराहीमा बस्नेछ। 

यस्तै, वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको बैठकबाटै सबै कुराको छिनोफानो हुने बताए। ‘स्थायी कमिटीमा दुवै प्रस्ताव लैजाने कुरा भएको छ,’ उनले भने,‘भोलि दुवै प्रस्तावमाथि त्यहीँ छलफल हुन्छ। उनले सबै कुराको छिनोफानो नेकपाका कमिटीले नै गर्ने बताए।

गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए। तर, अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव कुण्ठाबाट ग्रसित र तथ्यहीन आरोपले भरिएको भएकाले त्यो प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएका थिए।

मंगलबार बसेको सचिवालय बैठक बहिष्कार गरेका ओली शनिबारको बैठकमा भने उपस्थित भएका थिए।