राष्ट्रपतिलाई भेटे देउवाले

काठमाडौं, मंसिर २४ : कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ । 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएकै समयमा राष्ट्रपतिले भेट गर्न बोलाएपछि देउवा बालुवाटारको बैठकबाट शितल निवास गएका थिए । 

पछिल्लो राजनीति र सरकारको कामकारबाहीका विषयमा सर्वदलिय बैठकमा के धारणा राख्ने भन्ने विषयमा छलफल गर्न देउवाले सोमबार पार्टीको पदाधिकारी सहित वरिष्ठ नेताहरुको बैठक बोलाएका थिए । उक्त बैठकले सर्वदलिय बैठकमा राख्ने पार्टीको धारणा तय गरेको थियो । ‘केही संचार माध्यामहरुले पार्टी सभापति सर्वदलिय बैठकबाट केही अगाडी निस्किएको विषयमा अनेक अनुमान गरेछन्,’ कांग्रेस एक पदाधिकारीले भने, ‘उहाँ राष्ट्रपतिले भेट्न बोलाएकाले बालुवाटारको सर्वदलिय बैठकबाट अलिक छिटो निस्कनु भएको हो।’

कांग्रेसले सर्वदलिय बैठकमा राख्ने धारणा पदाधिकरी बैठकबाटै तय गरेकाले उक्त धारणा कांग्रेस नेता रामचन्द्र पौडेल सहितका बैठकमा सहभागि नेताहरुले वालुवाटार राखेका थिए। ‘कांग्रेसले बैठकमा के धारण राख्ने भन्ने सभापतिले पार्टी भित्र छलफल गरेर तय भएको थियो,’ ति पदाधिकारीले भने, ‘सोही अनुसार बालुवाटारमा भएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सोही धारणा राखेका थिए ।’

राष्ट्रपति भण्डारीले प्रतिपक्ष दलको नेतासँग भेट गर्न केही दिनअघिनै मंगलबारका लागि समय मिलाइएको थियो। देउवा सर्वदलिय बैठकबाट राष्ट्रपतिसँग भेट गर्न शितल निवास गएका थिए।