संसद विघटन हुनुअघि नै नेकपा सांसदले आज बिहानै दर्ता गरेका थिए प्रधानमन्त्रीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव

काठमाडौं : राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ। 

सचिवालय स्रोतका अनुसार दर्ता नम्बर १ रहेको उक्त प्रस्तावमा ९० सांसद हस्ताक्षर छ। 

सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको बताए। उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ। 

‘संसद विघटन गर्न सिफारिस गरेको भन्ने कुरा मिडियामा आएपछि यो संविधानमा व्यवस्था नभएको विषय हो। संविधानविपरीतको कदम सरकारले चाल्न थाल्यो भनेर प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हौं,’ उनले भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।