दुःखको आकार

 

 

छोरोको बाउचाहिं बिहान बेलुका जतिखेर पनि तमाखु खाइरहनु पर्ने अनि जाँडरक्सी भनेपछि भुतुक्कै हुने । तर उसैको छोरो चुरस तमाखु भने छुँदै छुन्न । त्यति ज्ञानी थियो । जाँड भने अलि अलि खान्छ । ज्यापूको छोरो हो खेतमा मरीमरी काम गर्नुपर्छ अलि अलि जाँड नखाए त जीउ बिग्रीहाल्छ नि ।

 

 

ध्रुव मधिकर्मी

 

 

जीवनमा कुनै ठूलो सुख नभए पनि भयानक दुःखको सामना पनि गर्नुपरेको थिएन राममायाले । दुःखजिलो गरेर आनन्दसित जीवनको गुजारा चलिरहेको थियो । छोरोले अमा र नातिले अजि भन्दा पाइने सुखजति ठूलो अरु कुन सुख होला र ! त्यसमाथि बुहारीले प्रत्येक बिहान माजु भाग्या भनेर खुट्टा ढोग्दा पाइने आनन्द बेग्लै छ राममायालाई । त्यही सुखको छायालाई गम्लङ्ग ओढेर राममायाले आफ्नो बुढयौलीका लामा दिनहरु काटिरहेकी थिई । सुखको सानो आकाशले छपक्क छाएको त्यस घरमा राममायालाई अलिकति दुःख भनेकै लोग्ने तुइलाल तमखुको अल्छिपना र पिउने बानी हो । कामको बेला कहिल्यै अगाडि हुन्न बूढो । यताउता गाउँमा चहार्दै हिंड्छ । काम त गर्छ तर अल्छि पनि उत्तिकै छ । त्यसो त तुइलाल संधै पिउँदैन तर पिएपछि खुट्टा भुइँमा हुन्न । उसले पिउने भनेकै ससुरालीमा हुने नखत्या र भोजभतेरमा हो । कहिलेकाहीँ यसो साथीभाइले खुवाउने हो । अरु बेला पिउनलाई कहाँ पाएर पिउनु ! तर अजिङ्गरको आहारा दैवले पु¥याउँछ भने झैं उसलाई पिलाउने कोही न कोही भेटिहाल्छ।

एकदिन राममायाको जीवनमा भयानक आँधी आयो । दुःखजिलो गरेर बाँचिरहेको सामान्य जीवनमा असामान्य आँधी आउला भनेर कसरी थाहा पाउनु ! एक एक गरेर सबथोक उडाएर लाने त्यस्तो कल्पनातीत आँधी उसको पारिवारिक संसारमा पस्ला भनेर उसले सपनामा पनि चिताएकी थिइन । जीवनमा त्यस्तो अकल्पनीय हुरीबतास आउला र उसको परिवार एक एक गरेर तहसनहस भएर जाला भनेर राममायाले सोच्न सक्नु पनि कसरी ? उसको देखेको संसार भनेकै माइती टोल र यही गाउँको दसबा¥ह घरभित्रको घेरो न हो । त्यहाँ भन्दा पर कुनै भौतिक काया र अनपेक्षित विपत्तिसित उसको सम्बन्ध नै थिएन । तर हुनेहार दैव नटार भने जस्तै जुन कुरो सपनामा पनि चिताइएन, आँखासामु त्यही यथार्थ भइदियो । उसको सानो संसारमा दुःखको ठूलो हुन्डरी मच्चियो ।

असारको महिना थियो । पानी झमझम परिरहेको थियो । पोहोरपरार जस्तो यसपालि भएन । बेलैमा पानी परेको र शुरुमै कुलो लगाउन पाएकोले रोपाइँको काम अगावै सकिएको थियो । घरभन्दा अलि माथि उनीहरुको दुई रोपनी खेत थियो । त्यही खेतको उब्जनीले जेनतेन जीवन धानिरहेको थियो । आफू र छोराबुहारी भएर एकदिन पुरै समय लगाएपछि त्यस वर्ष रोपाइँको काम मज्जाले सकिएको थियो । अघिपछि ’roundका सबैको रोपाइँ भइसक्दा पनि राममायाको खेत बाँझै रहन्थ्यो । कहिले कुलो लाउन नपाएर त कहिले पानी नपरेर हैरान हुन्थ्यो । छोरो सानै थियो । लोग्ने काममा अल्छि गथ्र्यो अनि जहिले पनि सबैको रोपाइँ सकिएपछि मात्र बल्ल राममायाको खेतमा रोपाइँ सुरु हुन्थ्यो ।

राममाय्चा कहिले रोपाइँ गछ्र्यौ हँ, सबैले रोपाइँ सिध्याइसके , छिमेककी माइली अता उसलाई भन्ने गर्थी ।

यस्तै हो अता, छोरो सानो छ । लोग्नेको भर छैन । विस्तारै होला नि, राममाया हाँसेर भन्थी ।

खेताला खोजेर भए पनि बेलैमा रोपाइँ सिध्याउ राममायचा । पछि पर्यो भने पानी नहोला, छरछिमेकहरु उसलाई सतर्क गराउँथे।

खेताला भनेको हो आउँछु भनेर पनि आइदिएनन् के गर्ने ?, राममाया जवाफ दिन्थी । वास्तवमा उसको हैसियत खेताला लाउने खालको भएन ।

तैपनि सबैले खेताला लाएपछि आफूले पनि लाउने कुरो त गर्नैप¥यो । त्यस्तै पर्दा कहिलेकाहीँ भाइहरु आएर सघाइदिन्थे ।

तेरो लोग्नेलाई त्यसरी छाडा छोड्न भएन, अलि अलि काम त गर्न सकिहाल्छ नि ।, माइली अताले सल्लाह दिई।

हो अता, कति भन्ने खै, कुरै सुन्दैन, राममाया विवश भएर भन्थी ।

अब छोरोको बिहे गरिदेऊ । छोरो पनि ठूलै भयो, माइली अताले भनी ।

गर्ने भनेको हो अता , केटी नपाएर नि । एकदुई ठाउँमा कुरा चलाइरहेकी छु । अताले चिनेको कोही छ भने यसो खोजूँ न, उसले भनी ।

हुन्छ हुन्छ म पनि यसो कतै छ कि खोजिदिउँला ।

छोरोको बिहे भएपछि राममायालाई काममा निकै सहयोग भयो । छोरो पनि काम गर्नसक्ने भयो । त्यसमाथि बुहारी पनि थपिएपछि त्यति गाहारो भएन । अब सबै काम एक्लैले भ्याउनु परेन । बारीमा तरकारी रोप्ने र गोड्मेल गर्ने काममा बुहारीले सघाउँथी । छोरो खेतको रखवारी गर्न सक्ने भयो । कुलो लाउने, खेत खन्ने, माटोको डल्ला फुटाल्ने सबै काम छोरै गथ्र्यो । बाउलाई पनि अब बढी स्वतन्त्रता मिल्यो । खेतवारीको जिम्मा छोरोको काँधमा बिसाएर तुइलालले अब दिनभरि गाउँ चहार्न पायो ।

छोरो ठूलो भएपछि र बिहेवारी पनि गरिदिएपछि राममायालाई निकै सजिलो भयो । उसलाई मानौं संसारकै सम्पूर्ण खुशी एकैचोटि आफ्नो पटुकामा बेर्न पाएझैं लाग्यो । समयमै रोपाइँ सकिएकोले राममाया फुरुङ्ग भएकी थिई । त्यस वर्ष माइतीमा गएर रोपाइँको लागि सघाउन पनि गएकी थिई । धेरै वर्षपछि राममाया यसरी माइतीमा रोपाइँको लागि सघाउन गएकी थिई ।

बिहे गरेकै वर्ष उसको नाति पनि भयो । नाति पाएपछि राममाया दङ्ग परी । भगवानले हात थापिदिएकै हो भन्ने लाग्यो उसको लागि । बुहारी पनि लछिनकै छे । यो घरमा बुहारीको पाइला परेदेखि सबै कुरो फलिफाप हुँदै आएको छ । उसको छोरो पनि कम लछिनको छैन । त्यही भएर त उसको लागि बुहारी पनि त्यस्तै लछिनकै पर्यो । छोरोको बाउचाहिं बिहान बेलुका जतिखेर पनि तमाखु खाइरहनु पर्ने अनि जाँडरक्सी भनेपछि भुतुक्कै हुने । तर उसैको छोरो चुरस तमाखु भने छुँदै छुन्न । त्यति ज्ञानी थियो । जाँड भने अलि अलि खान्छ । ज्यापूको छोरो हो खेतमा मरीमरी काम गर्नुपर्छ अलि अलि जाँड नखाए त जीउ बिग्रीहाल्छ नि । छोरो काम गर्नसक्ने र ज्ञानी भएकोले उसलाई जीवनमा एकप्रकारको अपार सन्तोष नै थियो । एकदिन त्यही ज्ञानी छोरा दिनभरिजसो खेतमा घाँस झारपात उखेलेर साँझ घर फर्केपछि टाउको दुख्यो भनेर पल्टेको थियो, त्यसपछि कहिल्यै उठेन ।

पाँच वर्ष अघिसम्म राममायाको सानो तर हराभरा थियो परिवार । उसको संसार सानो थियो र दुःख पनि सानै थियो । तर आफ्नो जवान छोराको चोला उठेपछि राममायाको परिवार अचानक भताभुङ्ग भयो । र एकाएक उसको दुःखको आकार कति हो कति ठूलो भयो ।