ओलीले देशमा संकट निम्त्याए : देउवा

काठमाडौं, पुस १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदले देशमा संकट निम्तिएको बताएका छन्।

बिहीबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको भर्चुअल संवाद कार्यक्रममा बोल्दै सभापति देउवाले देश स्थिरताको बाटोमा हिडिरहेका वेला प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संकटतर्फत धकेलेको बताए।

‘ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेका छन् । ओलीको कदम अलोकतान्त्रिक पनि छ,’ देउवाले भने।

उनले संसद् विघटन गरेर चुनावमा जाने ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्ने बताए।  ‘लामो संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेका बेला फेरि पधानमन्त्री ओलीले असंंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेपछि देश संकटतर्फ धकेलिएको छ । यो कदम असंवैधानिक भन्दै हामीले देशव्यापी विरोध गरेका छौँ,’ सभापति देउवाले भने।

अहिले यो विषय सर्वोच्च अदालतमा रहेको उल्लेख गर्दै सर्वोच्चबाट असंवैधानिक कमद सच्चिने विश्वास गरे। उनले भने, ‘अहिले यो विषय सर्वोच्च अदालतमा छ । हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्चलाई स्वतन्त्ररुपमा निर्णय गर्न वातावरण बनाइरहेका छौँ।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएरका थिए। त्यस्तै, आगामी वैशाख १७ र २७ गते मध्यावति चुनाव घोषणा गराएका थिए।

यस विरुद्ध सर्वोच्च अदालतमा १३ रिट परेका छन्। सबै रिटलाई सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाएको छ।

सभापति देउवाले कुनै पनि बहानामा एकदलीय शासन नमान्ने बताए। अहिलेको ओलीको कदमको सबैले डटेर सामना गर्नुपर्ने उनको भनाइ थियो।

उनले बीपी कोइरालाको मेलमिलापनको नीतिको अहिले पनि सान्दर्भिकता रहेको चर्चा गरे।