राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजियो : प्रधानमन्त्री

काठमाडौं, पुस १७ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको आरोप लगाएका छन्।
शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्र ठीक होइन भन्ने निष्कर्षका साथ केही मान्छेहरु राजा चाहिन्थ्यो भन्ने ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजेको आरोप लगाएका हुन्।
उनले भने,‘ लोकतान्त्रिक प्रणाली ठीक होइन। संघीयता र गणतन्त्र ठीक होइन भन्ने निष्कर्ष निकाल्न केही मान्छेहरु लागिरहेका छन्। राजा चाहिन्थ्यो नै भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ। यो कुरा प्रष्टसँग देखिन थालेको छ।’
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाप्रति इंकित गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको बहुमत र अल्पमतको कुरा निर्वाचन पछि टुंगो लाग्ने बताए। ‘ केही साथीहरु सकडमा हाम्रो बहुमत छ भनेर चर्को स्वरमा कराइराख्नु भएको छ,’ उनले भने,‘बहुमत र अल्पमतको टुंगो चुनावपछि लाग्छ को बहुमतमा छ, को अल्पमतमा छ भन्ने कुरा।’
