प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे २५ पुसदेखि देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोधका  कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले २५ पुसदेखि ८ माघसम्म वडादेखि निर्वाचन क्षेत्रसम्म विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कांग्रेसले पहिलो चरणमा देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी ३ माघदेखि देशभरका स्थानीय तहमा र  माघ ८ गते सम्पूर्ण वडास्तरमा प्रतिनिधिसभा विघटनको विरोधमा कार्यक्रम गर्ने भएको छ । कांग्रेसले कार्यकर्तालाई देशव्यापी आन्दोलनका कार्यक्रममा सक्रियतापूर्वक लाग्न अनुराेधसमेत गरेकाे छ । 

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भनेर विरोध गर्दै आएको छ ।

कांग्रेसको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो भन्ने नेपाली कांग्रेसले प्रष्ट पारिसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने हाम्रो ठहर छ ।’