काठमाडौंमा पहिलो हिउँदे बर्षा, हिमाली जिल्लाहरुमा हिमपात

काठमाडौं, पुस २० : काठमाडौं उपत्यकामा आज एका बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविदहरुले जनाएका छन् ।

आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ । त्यस्तै केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते (बुधबार) देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।

मौसमविद्का अनुसार काठमाडौं उपत्यकासहित धेरैजसो पहाडि जिल्लाहरुमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ ।