पत्नी सीताको उपचार गर्न प्रचण्ड आज मुम्बई जाँदै

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन्। 

स्रोतका अनुसार काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँ दिल्ली हुँदै पत्नीको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन्।

प्रचण्डले उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो। मुम्बईमा सीताको उपचार कुन अस्पतालमा हुनेछ भन्ने खुलाइएको छैन। 

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।