खप्तडमा हिउँ हेर्न जानेकालागि हेलिकप्टरको व्यवस्था

डोटी, पुस २१ : पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्जमा हिउ पर्न थालेको छ। यहिवेला खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड हाेमस्टेले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो। खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि हेलिकप्टरको व्यवस्था गरिएको खप्तड हाेमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए।

यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको छ। यस क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काको भनाइ छ।

यो प्याकेजले पर्यटकलाई सहज हुने बताउँदै उनले भने, ‘कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ।’

हाेमस्टेका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट ३० हजार, डोटीको दिपायलबाट १० हजार र झिङ्ग्रानाबाट आठ हजारमा खप्तड घुम्न पाइनेछ। यो प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन्।

भूस्वर्गका रूपमा चिनिँदै आएको खप्डतमा २२ वटा पाटन र ५३ थुम्का छन्। खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले बताए।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन्। (रासस)