मण्डललाई प्रदेश २ को संसदीय दलको नेताबाट हटायो प्रचण्ड–नेपाल समूहले

काठमाडौं, पुस २१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सत्यनारायण मण्डललाई हटाएको छ। 

मंगलबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले मण्डललाई संसदीय दलको नेताबाट हटाएर शत्रुघ्न महतोलाई चयन गरेको हो।  दलका उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले नेता मण्डलविरुद्धको अविश्वासको प्रस्ताव पनि पारित गरेको थियो। 

प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतकमा सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली रहेका छन्। प्रदेश नम्बर २ मा नेकपाका ३२ जना सांसद  छन्। तीमध्ये  प्रचण्ड–नेपाल समूहमा १९ प्रदेश सांसद छन्।

यस्तै, प्रचण्ड–नेपाल समूहले मंगलबार नै सभामुख सरोज कुमार यादवलाई नयाँ संसदीय दलको नेता चयन भएको विषयमा जानकारी गराएको दलकी सचेतक बेची लुंगेलीले जानकारी दिइन्। योसँगै प्रदेश २ को प्रदेशसभामा नेकपाले संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत समेत गुमाएको छ।