आफैले बनाएको संविधानमाथि ‘कू’ हुँदैगर्दा पनि त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने नेम्वाङ : गगन थापा

काठमाडौं, पुस २२ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधानमा ‘कु’ भएको हेरेर बस्ने तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ‘निरिहता’ देखेर दया लागेको बताएका छन्। उनले सामाजिकम सञ्जालमार्फत आफैले बनाएको संविधानमाथि ‘कू’ हुँदैगर्दा पनि त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने नेम्वाङमाथि आक्रोस पोखेका हुन्।

थापाले लेखेका छन्, ‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसका ’boutमा थाहा छ। मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर, ‘श्रीमान्, प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ।’

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुन लागेका बेला उनले नेम्वाङको मौनताप्रति असन्तुष्टि जनाउँदै आक्रोश पोखेका छन्। ‘अपसोच उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ, उनले भनेका छन्, ‘आफैंले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’