प्रधानमन्त्री ओली राजनीतिक क्यान्सर हुन् : बाबुराम भट्टराई

काठमाडौं, पुस २२ : जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिएका छन्।

बुधबार नयाँ बानेश्वरमा नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तर्क्रियामा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओली राजनीतिक क्यान्स भएकाले सबैलाई खान सक्ने आरोप लगाएका हुन्। उनले भने,‘ प्रधानमन्त्री ओली राजनीतिक क्यान्सर हो। राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ। नेकपाभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्नुस्।’

उनले प्रधानमन्त्री ओली विदेशी शक्तिको मतियार भएको पनि आरोप लगाए। नियोजित ढंगले संसद विघटन गरेर देशमा अस्थिरता ल्याउन प्रधानमन्त्री ओलीले विदेशी शक्तिको मतियार बनेको उनको आरोप छ। 

भट्टराईले प्रधानमन्त्री ओली परिवर्तन विरोधी इमान्दार तानाशाह भएको पनि बताए। पूर्वप्रधानमन्त्री भट्टराईले असंवैधानिकरुपमा गरिएको संसद विघटनविरुद्ध सबै दल एकजुट भएर उभिन पर्ने पनि बताए।