डेमोक्र्याटहरू ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गर्दै

काठमाडौं, पुस २७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्।

तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध दङ्गालाई प्रोत्साहन गरेको आरोप लगाउने योजना छ। संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो। संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए।

तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ। त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ।