चियापान, स्वागत, सत्कार नगर्न प्रदेश १ सरकारको परिपत्र

कोरोना भाइरसको महामारीका कारण आर्थिक संकट आएपछि प्रदेश १ सरकारले अनावश्यक खर्च नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

प्रदेश सरकारले अनावश्यक खर्च कटौति गर्न र आर्थिक अनुशासन कायम राख्न परिपत्र गरेको हो। अनावश्यक योजना पनि कटौति गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।

प्रदेश सरकारले जारी गरेको परिपत्रमा चियापान, स्वागत, सत्कार नगर्न निर्देशन दिएको छ। यसअघि भ्रमण भत्ता, बैठक भत्ता, तालिम भत्ता, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर, सफ्टवेरलगायत शीर्षकमा विनियोजन भएको बजेट खर्चन नगर्न निर्देशन दिएको थियो।

त्यस्तै, स्रोत सुनिश्चित नभएका योजनाको काम अघि नबढाउन पनि निर्देशन दिएको छ। अब बहुबर्षिय योजनामा पनि खर्च नगरिने भएको छ।

योसँगै प्रदेश १ मा तत्काल नयाँ योजना पनि अघि बढ्ने भएका छन्। परिपत्रमा कार्यालय खर्च पनि कटौति गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक अवस्था संकटनमा पर्न लागेको बताएका छन्। कोरोना महामारीमा धेरै खर्च भएकाले समस्या आएको उनको भनाइ छ।

अहिले अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले महामारीका कारण राजश्व संकलनमा कमि आउँदा कठिनाइ भएको बताए।

यस अघिका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईका कारण प्रदेशको अर्थ व्यवस्था संकटन परेको बताउँदै आएका छन्। उनलाई पुस ११ गते मुख्यमन्त्री राईले हटाएका थिए।