‘कांग्रेस संसद् विघटन सदर भए निर्वाचनमा, बदर भए संसदमा जान्छ’: देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्चबाट प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा हुने जुनसुकै फैसला स्विकार्न कांग्रेस तयार रहेको बताएका छन् । देउवाले कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै कांग्रेस सर्वोच्चको जस्तोसुकै फैसला स्विकार्न तयार रहेको बताएका हुन् ।

उनले लोकतान्त्रिक पद्धतिमा सडक आन्दोलनबाट  अदालतलाई दबाब दिन नहुनेसमेत बताए । उनले भने, ‘कांग्रेस अदालतको निर्णय कुर्छ र  स्विकार्छ । अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे कांग्रेस निर्वाचनमा सहभागी हुन्छ, बदर गरे स‌सदमा जान तयार छौं ।’

देउवाले अदालतमा विचाराधीन मुद्दाका विषयमा तर्क वितर्क गर्नु अनावश्यक भएको बताएका छन् । उनले भने, ‘जे  गर्छ, अदालतले गर्छ । अदालतलाई स्वतन्त्र छाडिदिनुपर्छ । अदालतले संविधान तथा कानुनअनुसार विचाराधीन मुद्दाको टुंगो लगाउँछ ।’