भारतले पाम तेलमा लगायो प्रतिबन्ध, धराशायी हुँदै नेपाली उद्योगहरु
वीरगन्ज, माघ ३ : छिमेकी मुलुक भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि पर्सा र बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन्।
पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ। पाम आयलको माग भारतमा उच्च छ।
नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो। आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम तेल चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म निकासीको सूचीबाट हटेको छ।
नेपालमा उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम तेल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएका छन्।
इन्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम तेलमा प्रतिबन्ध लगाएको जनाएको छ। नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले भने, ‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।’
वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोडको पाम तेल निर्यात भएको थियो। पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम तेल भारत निकासी गरेको थियो। तर, भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए।
भारतमा पाम तेल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेका छन्। ओसिबी फुड्सका सञ्चालक सुरेश रुगङ्टाले भने, ‘पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए, तर पाम आयल निर्यातमा भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डरले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएका छन्।’
नेपालबाट प्रशोधित भई भारत जाने पाम तेलले ८० प्रतिशत भारतीय बजारमा आफ्नो कब्जा जमाएकाले त्यहाँबाट विदेशी मुद्रा नेपाल आउँदा यहाँको उद्योग फस्टाउँदै गएका थिए। भारतीय प्रतिबन्धपछि उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम तेलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडियाले बताए।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नौ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात गरिएको छ। निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ।
अघिल्लो वर्षको समीक्षा अवधिमा करिब रु दुई अर्बकोे १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन्। (रासस)