विश्वको दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गर्दै १० नेपालीद्वारा विश्व रेकर्ड कायम

काठमाडौं, माघ ४ : १० जना नेपालीको पर्वतारोही टिमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् ।

टीमका एक सदस्य निमर्ल पुर्जाका अनुसार उनीहरुले पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए । उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् ।

उनीहरु फरक फरक तीनवटा आरोहण दलबाट गएका हुन् । सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् । विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू के टू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए । तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएको छ ।