गोदावरी खोला सफाइ १००औँ हप्तामा

ललितपुरस्थित गोदावरी नदी सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रम आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ जोड्ने विष्णुडोल पुल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोलाको विस्तृत परियोजना प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो ।

प्रस्ताव स्वीकृत भएपछि तीनै तहका सरकारकाबीच समन्वय गरी नदीलाई सफा बनाउन थप सहयोग मिल्ने बताउनुभयो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गोदावरी खोला क्षेत्रका नगरपालिकासँग समन्वय गरी स्वच्छ राख्ने अभियानमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । १०० हप्ताको विशेष कार्यक्रमम सहभागी भएका सफाइ अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । विगत १०० हप्ताअघिदेखि महिला र बालबालिकाको विशेष पहलमा गोदावरी खोला सफाइ हुँदै आएको छ । सफाइको नेतृत्व बेबी राजभण्डारीले गरिरहनुभएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ हुन थालेको हो । सहायक नदीसँगै उपत्यकामा चक्रपथका विभिन्न स्थान, सांस्कृतिक सम्पदालगायत स्थानमा पनि साप्ताहिक रुपमा सफाइ भइरहेको छ ।

उपत्यक बाहिर पनि प्रमुख शहर र नदी गरी १०६ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट आशातीतरुपमा नदी सफा नदेखिए पनि देशभर सफाइ जागरण फैल्याउन सफल भएको छ ।

यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका विभिन्न स्थान, मनोहरा, हनुमन्तेलगायत स्थानमा पनि सफाइ गरिएको छ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर जागरण फैलिए पनि स्थानीय सरकारको बेवास्ताले संस्थागतस्वरुप ग्रहण गर्न नसकेको अभियानकर्मीको गुनासो छ । नदी किनार, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाहीको अभियान चलाउन सके पनि सफाइमा ठूलो सहयोग पुग्ने विश्लेषण अभियानकर्मीको छ ।