१४८ भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार

तस्विर : सुनिल शर्मा

काठमाडौं, माघ २२ : देशव्यापी आमहडताल सफल पार्न सडकमा उत्रिएका नेकपा (दाहाल–नेपाल)का १ सय ४८ भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।  नेपाल प्रहरीले काठमाडौं, तनहुँ, वीरगन्ज, सिराहा, बारालगायतका स्थानबाट नेकपा (दाहाल–नेपाल) का १४८ भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

नेकपा (दाहाल–नेपाल) का केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत सो संख्यामा नेता तथा कार्यकर्ता गिरफ्तार भएको जनाए । 

कलंकीबाट स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य डा. विजय पौडेल,  हितमान शाक्य, अमृता थापालगायत नेता तथा कार्यकर्तालाई आज बिहानै गिरफ्तार गरिएको छ ।

त्यस्तै चावहिलबाट केन्द्रीय सदस्य कृष्ण केसी, बागबजारबाट युवा नेता रमेश मल्लसहित काठमाडौंका विभिन्न स्थानबाट ७२ जना नेता कार्यकर्ता गिरफ्तार भएका छन् । रिजालका अनुसार तनहुँमा १६ जना नेता तथा कार्यकर्ता गिरफ्तार भएका छन् ।

जनकपुरमा नेकपा (दाहाल–नेपाल)को जुलसमाथि पछाडिबाट प्रहरीले फायरिङ गरेकाे रिजालले जानकारी दिए । उनका अनुसार जनकपुरबाट १२ जना गिरफ्तार भएका छन् ।

त्यस्तै, वीरगन्जबाट ३५ जना नेता कार्यकर्ता गिरफ्तार भएका छन् । रिजालले सिराहाबाट विवेक परियार, विराट मण्डललगायत नेता कार्यकर्ता गिरफ्तार भएको बताए । 

बाराबाट ६, विराटनगरबाट ७ र कास्कीबाट एक जना गिरफ्तार भएको रिजालको भनाइ छ ।