नेकपा ओली समूहको नारायणहिटी अगाडी आज जनसभा

काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधरले आज बृहत् सभाको आयोजना गरेको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो।

सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता समर्थक सहभागी हुने छन् । मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ। सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ।प्रदेश कमिटीले सभाको तयारी स्वरुप गत बुधबार काठमाडौँमा मोटरसाइकलको  र्‍याली समेत गरेको थियो।