हाम्रो भाषा: हिज्जे कसरी मिलाउने ? -शरच्चन्द्र वस्ती
हिज्जे नमिल्दा शब्दको अर्थमा आकाश–पातालको फरक पर्छ । फूल ले ‘पुष्प’ बुझाउँछ, फुल ले ‘अन्डा’ । सत्यनारायणको पूजामा फूल चढाइन्छ, अमलेट बनाउन फुल खोजिन्छ । पीस जोन को अर्थ ‘शान्तिक्षेत्र’ हुन्छ तर पिस जोन ले ‘पिशाब फेर्ने ठाउँ’ लाई जनाउँछ ।
हिज्जे
भाषा शब्दहरूबाट बन्छ । शब्द अक्षरहरूबाट बन्छन् । प्रत्येक शब्दमा अक्षर र मात्राहरू निश्चित क्रम र रूपमा रहेका हुन्छन् । यसैलाई हिज्जे भनिन्छ । कुन शब्द कसरी लेख्ने भनेर परम्परादेखि चलिआएको सर्वस्वीकृत प्रचलन नै हिज्जे हो ।
लेख्ने क्रममा सर्वप्रथम शब्दको हिज्जे शुद्ध र सही होस् भनेर ध्यान पु¥याउनुपर्छ । लापरवाही गर्न हुँदैन । हिज्जे ठीक भएपछि मात्र शब्दको स्वरूप ठीक हुन्छ । शब्दको स्वरूप ठीक भएपछि मात्र लेखाइ ठीक हुन सक्छ ।
हिज्जे नमिल्दा शब्दको अर्थमा आकाश–पातालको फरक पर्छ । फूल ले ‘पुष्प’ बुझाउँछ, फुल ले ‘अन्डा’ । सत्यनारायणको पूजामा फूल चढाइन्छ, अमलेट बनाउन फुल खोजिन्छ । पीस जोन को अर्थ ‘शान्तिक्षेत्र’ हुन्छ तर पिस जोन ले ‘पिशाब फेर्ने ठाउँ’ लाई जनाउँछ । ‘पूर्व दिशा तिर फर्केर नमस्कार गर’ भन्नुपर्ने ठाउँमा ‘पूर्व दिसा तिर’ लेखियो भने कस्तो होला ?
हिज्जे नमिल्दा अर्थ फरक पर्ने केही उदाहरण:
नेपाली जाति: कति जाती !
* जाति ले जातजातिलाई बुझाउँछ; जाती ले असल स्वभावको, भलोलाई । — कैलालीमा थारू जातीको बसोबास छ । (हुनुपर्छ— जातिको) — माइली दिदी सारै जाति हुनुहुन्छ । (लेख्नुपर्छ— सारै जाती)
* चिर को अर्थ लामो समयसम्म रहने हो, चीर को अर्थ कपडा । — सच्चा समाजसेवीको नाम चीरकाल सम्म अमर रहन्छ । (हुनुपर्छ— चिरकाल सम्म) — कौरवको सभामा द्रौपदीको चिर हरण भयो । (लेख्नुपर्छ— चीर हरण)
* तिर को अर्थ तर्फ हो, तीर भनेको नदी÷खोलाको किनारा वा वाण । — भीर तीर नजाऊ, लडौला । (हुनुपर्छ— भीर तिर) — इन्द्रावतीको तिर मा पिकनिक जाने भयौं । (लेख्नुपर्छ— तीर मा) — एक तिर ले दुई शिकार । (भन्नुपर्छ— तीर ले) ।
* तालि को अर्थ पटक हो, ताली ले थपडीलाई बुझाउँछ । — मैले दोस्रो तालीमा बल्ल एसएलसी पास गरें । (हुनुपर्छ— दोस्रो तालिमा) — भाषण सकिनासाथ सबैले तालि बजाए । (लेख्नुपर्छ— ताली)
* खालि को अर्थ केवल हुन्छ, खाली को अर्थ रित्तो । — रामेश्वर खाली हल्ला गरिरहन्छ । (हुनुपर्छ— खालि) — त्यस दिन कक्षा कोठा खालि थियो । (लेख्नुपर्छ— खाली)
* दिन भनेको दिवस हो, दीन भनेको दरिद्र÷दयनीय । — चार दीन सम्म राजु भैरहवामै बस्यो । (हुनुपर्छ— चार दिन सम्म) — दिन–दुःखीलाई दया गर । (लेख्नुपर्छ— दीन–दुःखीलाई)
जम्मै कि उब्रेको ?
* खाएर उब्रिएको जूठो वस्तु पुरा हो, जम्मै÷सम्पन्न लाई पूरा भन्छन् । — कैयौं दिन उसले जूठो–पूरा मा गुजारा गर्यो । (हुनुपर्छ— जूठो–पुरा) — भाइले होमवर्क एक घण्टामै पुरा गर्यो । (लेख्नुपर्छ— पूरा गर्यो )
* कुल ले वंश वा खानदानलाई मात्र बुझाउँदैन, ‘जम्मा’ भन्ने पनि बुझाउँछ । — जुत्ता, पाइन्ट, शर्ट र कोट किन्न कूल १२ हजार रुपैयाँ खर्च भयो । (लेख्नुपर्छ— कुल १२ हजार रुपैयाँ)’ उनी शब्द सर्वनाम हो, ऊनबाट बनेकोलाई ऊनी भन्छन् । — ऊनी कहिल्यै रिसाउँदिनन् । (भन्नुपर्छ— उनी) — उनी गलैंचा निकै महँगो हुन्छ । (लेख्नुपर्छ— ऊनी गलैंचा)’ मैले सरस्वती मातालाई चढाउन फुल किनें । बुझिहाल्नुभयो होला, सरस्वती मातालाई फुल (अन्डा) चढाइँदैन, फूल (पुष्प) मात्र चढाइन्छ । अनि फुल लेखेर भयो त ?
शायर: सजीव कि निर्जीव ?
* सायर भनेको कपडाको बार हो, कविलाई चाहिं शायर भनिन्छ । — तीन जना सायर ले गजल सुनाए । (लेख्नुपर्छ— शायर ले)
* सहर भनेको एक जातको माछो हो, नगर लाई शहर भनिन्छ । — काठमाडौं मन्दिरको सहर हो । (लेख्नुपर्छ— शहर)
* मातलाई नशा भन्छन्, रक्तवाहिनी नाडीलाई नसा । — भाङको शर्बत पिएपछि सबैलाई नसा लाग्यो । (भन्नुपर्छ— नशा) — नशा–नशा मा तातो रगत बग्छ । (लेख्नुपर्छ— नसा–नसा मा)
* शाला भनेको घर हो, साला ले पत्नीको भाइलाई बुझाउँछ । — मेरो गाउँमा एउटै पाठसाला छैन । (भन्नुपर्छ— पाठशाला) — शाला ले भिनाजुलाई धोखा दिएछ । (लेख्नुपर्छ— साला ले)
* कोश को अर्थ ढुकुटी हो; अर्थसहित शब्दहरू भण्डारण गरिएको ग्रन्थलाई पनि कोश भनिन्छ । कोस को अर्थ चाहिं आँखाको दुवैतिरको कुनो भन्ने हुन्छ; दुई माइल लम्बाइलाई पनि कोस भन्छन् । — राज्यको कोस खाली छ । (लेख्नुपर्छ— कोश) — दुवै आँखाका कोश आँसुले भिजेका थिए । (भन्नुपर्छ— कोस)
* शेर सिंहलाई भन्छन्, सेर चार पाउ वजनलाई । अब आफैं भन्नुहोस्, शेरबहादुर र सेरबहादुर को अर्थमा कति फरक रहेछ ?
* शव भनेको लाश हो, सब भनेको सारा÷सम्पूर्ण । — शवलाई नदीमा बगाइदेऊ । अर्थात् लाशलाई बगाइदेऊ । — सबलाई नदीमा बगाइदेऊ । अर्थात् सबै जनालाई बगाइदेऊ ।
ङिच्च गर्ने पार्क
अंग्रेजीबाट नेपालीमा आएर चलेका शब्दहरूमा पनि ह्रस्व–दीर्घ र श–स को पूरापूर ख्याल गर्नुपर्छ । नत्र एक थोक भन्न खोज्दा अर्कै अर्थ लाग्छ र लेखाइ हास्यास्पद हुन पुग्छ । जस्तै ः
* सिन को अर्थ पाप हो, सीन को अर्थ ‘दृश्य’ । त्यसैले ‘मैले क्या राम्रो सिन देखें’ लेखियो भने सुन्दर दृश्य होइन, ‘गजबको पाप देखें’ भन्ने अर्थ लाग्छ । दृश्यलाई सीन नै लेख्नुपर्छ ।
* ग्रिन को अर्थ ङिच्च गर्नु हो, ग्रीन को अर्थ ‘हरियो’ । त्यसैले ‘हरियो पार्क’ भन्नुपर्दा ग्रीन पार्क नै भन्नुपर्छ । ग्रिन पार्क भन्दा त ‘ङिच्च गर्ने पार्क’ भन्ने अर्थ लाग्छ ।
* लिभ को अर्थ बाँच्नु हो, लीभ को अर्थ विदा । त्यसैले ‘लामो विदा’ भन्नुपर्दा लंग लीभ नै भन्नुपर्छ, लंग लिभ भनेर हँुदैन ।
* पुल भनेको तान्नु हो, पूल भनेको दह वा पोखरी । त्यसैले स्विमिङ पूल नै लेख्नुपर्छ, स्विमिङ पुल लेखेर हुँदैन ।
* फुल को अर्थ भरी÷भरिएको हुन्छ भने फूल को अर्थ हो— मूर्ख÷बुद्धिहीन । त्यसैले अप्रिल फूल नै लेख्नुपर्छ; अप्रिल फुल लेख्नु आफैंलाई मूर्ख (फूल) घोषित गरे सरह हुन्छ ।
* सेभिङ को अर्थ बचाउनु हो, शेभिङ को अर्थ खौरिनु वा दारी काट्नु । त्यसैले दारी काट्ने सिलसिलामा लगाउने क्रीमलाई शेभिङ क्रीम नै लेख्नुपर्छ । पातलो स राखेर सेभिङ क्रीम भन्दा ‘बचाउने क्रीम’ भन्ने अर्थ लाग्छ ।
* सिट को अर्थ बस्नु हो भने शीट को अर्थ कागजको पत्र वा पाना । त्यसैले ‘लब्धांकपत्र’ लाई मार्कशीट नै भन्नुपर्छ । मार्कसिट ले त्यो अर्थ बुझाउँदैन ।’ शेक्सपियर विश्वविख्यात नाटककारको नाम हो । त्यसको श लाई बिगारेर सेक्सपियर लेखिदिंदा ‘यौन–जोडा’ भन्ने अर्थ लाग्न सक्छ । हिज्जे बिगारेर यस्तो खालका अनर्थ किन निम्त्याउने ?
भीमसेनको काँधमा गधा ?
अरू किसिमको हिज्जेमा पनि पर्याप्त ध्यान दिनुपर्छ । नत्र कुरा गडबड हुन्छ । जस्तै ः
* भीमसेनले आफ्नो काँधबाट गधा उठाएर दुर्योधनमाथि प्रहार गरे । गधा होइन, गदा । गधा एक खालको चारखुट्टे जनावरलाई भन्छन् । गदा चाहिं एक प्रकारको शस्त्र हो ।
* गाडा अन्धकारमा मैले राधालाई ठम्याउन सकिनँ । गाडा होइन, गाढा । गाडा भनेको गोरू, राँगो, मान्छे आदिले तान्ने गाडी हो । गाढा भनेको चाहिं बाक्लो÷अतिशय हो ।
* पाँचै जना दाजुभाइ आमाको कृया मा बसेका थिए । कृया होइन, किरिया ।
* रक्सी खाएपछि के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने शुद्धि बाँकी रहँदैन ।
शुद्धि होइन, सुद्धी । शुद्धि भनेको शुद्धता, पवित्रता वा चोख्याउने काम हो । सुद्धी चाहिं चेतना, होश वा ज्ञानलाई भन्छन् ।
* धन्य, पास भइछस् ! धन्य होइन धन्न । धन्य को अर्थ प्रशंसालायक भन्ने हो । धन्न चाहिं खुशी वा व्यंग्यमा प्रकट गरिने उद्गार हो ।
( वस्तीको नेपाली कसरी लेख्ने ? पुस्तकको हिज्जे खण्डबाट साभार । बाकि हिज्जे अर्को अंकमा । )