संसद् विघटन सर्वोच्चले सदर गरे देशमा अराजकता भित्रिन्छ : पौडेल

काठमाडौं, माघ ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे देशमा अराजकता भित्रिने विश्लेषण गरेका छन् । उनले प्रधानमन्त्रीले मनलाग्दी संसद् विघटन गर्ने चलन सुरु भई देशमा अराजकता भित्रिने विश्लेषण गरेका हुन् । 

उनले भने, ‘सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे  दुई किसिमका परिणाम देखिन्छन् । एक, यस्तो बेला चुनाव हुने सम्भावना छैन । दुई– प्रधानमन्त्रीलाई झोक चलेपछि संसद विघटन गर्ने चलन बस्छ । यसले देशलाई अस्थिरतातर्फ धकेल्छ ।’

पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए  । उनले भने, ‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकारी दिएको छैन । यो असंवैधानिक कदम हो ।’

उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान नमाने पनि अदालतले संविधान मान्नुपर्ने बताए ।