निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाडिने छैन: प्रधानमन्त्री

काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई सजाय दिने आश्वासन दिएका छन् । उनले आज बुटवलमा आयोजित सभामा पन्त र भट्टका हत्यारा पत्ता लगाएर सजाय दिने आश्वासन दिएका हुन् ।

उनले भने, ‘दुई–चार दिन भाग्लान् । दुई–चार दिन उम्केलान् ।  एक वर्ष उम्केलान् । सजाय कट्टा हुनेछैन । अपराधीलाई पूराको पूरा सजाय दिनेछौँ । निर्मला र भागरथी हत्याकाण्डमा संलग्न अपराधीलाई अदालतको कठघरामा उभ्याएर  सजाय दिनेछौं ।’

उनले सरकारको बद्नाम गर्न केही आपराधिक तत्त्व क्रियाशील भएकाे बताए  । उनले भने,  ‘त्यस्ता तत्त्वले निर्मला, भागरथी हत्याकाण्ड जस्ता घटनाहरु घटाएका छन् ।’  

उनले बलात्कार–हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि नछाड्ने बताए । उनले  भने, ‘यस्ता हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि छोडिनेछैन । विश्वको कुनै पनि भागमा भागेर पुगे पनि  खोजेर–समातेर ल्याएर कानुनी दायरामा राखिनेछ । कारबाही गरेर छोडिनेछ । अपराधबाट उम्कन दिइनेछैन ।’