सर्वोच्चमा अदालतको अवहेलना नगरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले  अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् । उनले आज सर्वोच्च पुगेर  अदालतको अवहेलना मुद्दामा  लिखित जवाफ पेस गरेका छन् ।

प्रधानमन्त्री ओलीले अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न दिएको आदेश पालना गर्दै लिखित जवाफ पेस गरेका हुन् ।

‘मेरो सम्मानित अदालतप्रति उच्च सम्मान रहेको छ । लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नुसमेत दुराग्रहपूर्ण छ,’ लिखित जवाफमा उल्लेख छ ।

उनले अदालतको अवहेलना नगरेको दाबी गरे । उनले रिट निवेदकले चर्चामा आउन आफूविरुद्ध रिट दायर गरेको बताए ।