सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री

काठमाडौं , फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले कुनै हालतमा संविधान नमिच्ने बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा बोल्दै  प्रधानमन्त्री ओलीले अहिलेको सरकारले लोकतान्त्रिक बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् । 

‘जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन’, प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

उनले सरकारले तोकेकै मितिमा निर्वाचन हुने भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे ।