आज किन बोलाए प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाउनु भएको निजी सचिवालयले जनाएको छ ।

गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको हो ।

स्रोतका अनुसार बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने छन् ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।