प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै, विजय जुलुस पनि

काठमाडौं, फागुन १२ : सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न प्रचण्ड–माधव पक्षको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने छ । बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने उनले बताइन्। यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ।

यसैबीच, प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव समूहको नेकपाले आज देशव्यापी विजय जुलुस निकाल्दैछ।  केन्द्रीय संघर्ष समितिको आयोजनामा दिउँसो १२ बजे काठमाडौंको शान्तिबाटिकामा विजय र्‍याली निकाल्न लागिएको समितिकी सहसंयोजक पम्फा भुषालले बताईन् ।  

देशभर जिल्ला सदरमुकाममा पनि अनुकुल समयमा विजय जुलुस निकालिने छ। उनका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालपनि कार्यक्रममा सहभागी हुने छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी सभा र प्रदर्शनमा रहेको प्रचण्ड–माधव समूहको नेकपाले आज चितवनमा आमसभा आयोजना गरेपनि संसद पुर्नस्थापना भएसँगै उक्त सभा स्थगित गरेर  चितवनमा रहेका अध्यक्षद्धय काठमाडौं आउन लागेका हुन् ।