म्यानमारमा सैन्य कुको विरोध प्रदर्शनमा गोली प्रहार, १० जनाको मृत्यु

याङ्गुन, फागुन १६ : सैन्य कुको विरोधमा प्रदर्शनमा उत्रिएका म्यानमारका नागरिकमाथि सेनाले गोली चलाएको छ। गोली लागेर १० जना प्रदर्शनकारीको मृत्यु भएको छ भने कयाैं घाइते भएका छन्।

आइतबार बिहानैदेखि म्यानमारका नागरिक सडकमा उत्रिएका छन्। शनिबारको प्रदर्शनमा सेनाले गोली चलाएपछि आज बिहानैदेखि प्रदर्शन थालिएको थियो। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गरिरहेको छ।

सेनाले अपदस्थ गरेकी नेतृ आङ सान सु कीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनसहित देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन्।

यसै महिनाको शुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेको छ।  जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन।

यसैक्रममा आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइनमार्फत नागरिकलाई आह्वान गरिएको थियो।

स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन्।

त्यस्तै, याङ्गुन र मन्डलेमा पनि प्रदर्शनकारीको मृत्यु भएको छ। उद्धारकताहरुका अनुसार तीनै शहरमा गरेर कम्तिमा १० जनाको मृत्यु भएको छ। अझै मृतकको संख्या बढ्न सक्ने जनाएको छ। कयाैं प्रदर्शनकारी घाइते भएका छन्।

यस अघि शनिबारसम्म पाँच जना प्रदर्शनकारीको मृत्यु भएको थियो। भिड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ।

म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सु कीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सत्ता हातमा लिएको थियो।

सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौं नेतालाई गिरफ्तार गरेको छ। सेनाको उक्त कदमको अमेरिका, युरोपेली युनियन र अरु कैयौं देशले विरोध गरेका छन्।