‘कांग्रेसलाई पदको लोभ पनि छैन, आयो भने भाग्‍ने पनि छैन’ : सभापति देउवा

भरतपुर, फागुन १९ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदको लोभमा नरहेको स्पष्‍ट पारेका छन्।

चितवन रत्ननगर-१४ लौरीघोलमा कांग्रेस नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको स्मृतिमा आयोजित श्रद्धाञ्‍जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ पनि छैन, आयो भने भाग्‍ने पनि छैन।’

देउवाभन्दा अगाडि सभालाई सम्बोधन गरेका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विषय उठान गरेका थिए। ‘कांग्रेसले प्रतिपक्षकै भूमिका वहन गर्नुपर्ने आवश्यकता छ,’ पौडेलले भनेका थिए।

जम्मा करिब पाँच मिनेट सभालाई सम्बोधन गरेका सभापति देउवाले आधाभन्दा बढी समय पार्टीमा स्वर्गीय रानाभाटको योगदान’bout चर्चा गरेका थिए।

‘कांग्रेसले प्रधानमन्त्री चाहियो पनि भनेको छैन। प्रधानमन्त्रीका लागि अफर आयो भने पार्टीलाई फाइदाकै कुरा हो। अरू पार्टी हुनुभन्दा आफ्नै पार्टी हुँदा फाइदा होला,’ वरिष्‍ठ नेता पौडेललाई जवाफ दिँदै देउवाले भने, ‘रामचन्द्रजी, सबैले तपाईंको चित्त सानो छ भन्छन्। हेर्दै जाउँ मरिमेट्ने कुरा पनि छैन। र, काँधमा आएको जिम्मेवारीबाट भाग्‍ने पनि छैन।’

सभालाई सम्बोधनका क्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले राजनीतिक विषय उठाएनन्। उनले स्वर्गीय रानाभाटप्रति श्रद्धाञ्‍जली मात्र व्यक्त गरे।

पूर्वसांसद रानाभाटको १० फागुनमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो। स्वर्गीय रानाभाट ०५६ सालमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।