यमनका नागरिक युद्ध र अनिकालको चक्रब्युहमा

बेथान म्याकर्नन/द गार्जियन

पश्चिम एसियाली मुलुक यमनमा वर्षौँको हिंसापछि आधा जनसंख्या भोकमरीमा छ र पाँच वर्षमुनिका चार लाख बालबालिका कुपोषणबाट ग्रस्त छन्। ११ वर्षीया सादिया इब्राहिम महमुद तिनैमध्येकी हुन्। उनी यति कमजोर थिइन् कि आफ्नो सानो शरीर छोप्न ब्ल्याङ्केट तान्न पनि सकिरहेकी थिइनन्।

‘म चाँडै निको हुन चाहन्छु र स्कुल जान चाहन्छु,’ उनले मसिनो आवाजमा भनिन्। राजधानी सानास्थित अस्पतालको कुपोषण वार्डमा छिरेको घामको किरणले उनको आँखामा समस्या  भयो। सिरानीमा उनले अर्कोपट्टि टाउको फर्काइन् र आराम गर्ने कोशिस गरिन्।

पछि सादियाकी आमाले मलाई उनको छोरीलाई राखिएको कोठाबाहिर लगिन्। ‘उनी कहिल्यै विद्यालय गएकी छैनन्। हाम्रो गाउँमा कुनै स्कुल छैन,’ उनले भनिन्, ‘तर म कसम खान्छु, यदि छोरी जीवित रहिन् भने म आफैँ एउटा विद्यालय खोल्नेछु।’

छोरी सादियाको सपना साकार गर्ने अवसर कहिल्यै आएन। केही दिनपछि सादियाको मृत्यु भयो।

यो भयानक घटना यमनभरि हरेक दिन दोहोरिन्छ। ‘अनिकाल’ एक जटिल प्राविधिक शब्द हो, जसलाई क्वालिटी डाटा आवश्यक हुन्छ। त्यही तथ्यांक यमनको सरकारसँग उपलब्ध छैन। अनिकालका स्तरलाई पछाडि राखौँ। एक करोड ६० लाख मानिस अर्थात् देशको आधा जनसंख्या भोकमरीको सामना गरिरहेको छ।

संयुक्त राष्ट्र संघले सन् २०२१ को मानवीय सहायता कार्यक्रमका लागि रकम जुटाउन संघर्ष गरिरहेको छ । बेलायत र खाडी मुलुकका राजतन्त्रले पनि सहयोग गर्न सकिरहेका छैनन्। तिनै मुलुक यमनमा द्वन्द्वका मुख्य कारक हुन्। यसले स्थिति अझ खराब हुँदै गइरहेको छ।

सहायता एजेन्सीहरूले पाँच वर्षमुनिका बालबालिकाहरू कुपोषणबाट मृत्युवरण गर्नुपर्ने जोखिम औँल्याइरहेका छन्। सन् २०२० को अन्त्यमा यमनको साब्वा प्रान्तमा गम्भीर घटनाको संख्या १० प्रतिशतले वृद्धि भएको थियो। दुर्गम पहाडी गाउँका समुदायलाई सहायता पुर्‍याइरहेको संस्था एबीएसले गत वर्षको तुलनामा यस वर्ष गम्भीर प्रकारको कुपोषण ४१ प्रतिशतले वृद्धि भएको रिपोर्ट दिएको छ।

कुपोषण, विनाशकारी हैजा र डेंगुबाट बच्न सफल बालबालिका पनि भविष्यमा अझ धेरै जोखिममा छन्। सब्बा प्रान्तका एक चिकित्सकले यमनले युद्धका कारण एउटा पुस्ता पूरै गुमाउने चिन्ता व्यक्त गरे।

केही ग्रामीण इलाकामा युद्ध सुरु हुनुअघि किशोरीको विवाहको औसत आयु १४ वर्ष मात्र थियो। तर, युद्ध सुरु भएयता त्यो दर अझ तल्लो उमेरतिर झरिरहेको छ। ११ वर्षे किशोरहरूलाई जटिल लडाईंमा सामेल गराउन पार्टीहरूले आ–आफ्ना सेनामा भर्ति गराउँछन्।

मृत्यु पनि साउदी अरेबिया र अरबी गठबन्धनको नेतृत्वमा हुने हवाई हमलाको रूपमा देखापर्छ। हुथी विद्रोही नियन्त्रित इलाकामा बसोबास गर्ने ७० प्रतिशत यमनी नागरिकले विदेशी सेनाले गर्ने बम आक्रमण राम्ररी बुझेका छन्। विद्रोहीविरुद्ध कारवाहीमा उत्रिएका बेलायतलगायत मुलुकका सेनाले वैवाहिक समारोह, अस्पताल र विद्यालय पनि आक्रमण गर्दै आएका छन्।

मिसाइलका हिस्साका प्राविधिक सूचना र सिरियल नम्बर सहजै उपलब्ध हुने गरेका छन्। र, ती मिसाइल पश्चिमा मुलुकका हतियार निर्माताका हुन् भन्ने कतै छिपेको छैन। अनि त्यस्ता  प्रमाण यमनी नागरिकले यसकारण दिन्छन्, ता कि आफ्ना प्रियजनलाई केही नहोस्। तर, त्यसबाट पनि न्याय पाउने आशा शून्यबराबर छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनको युद्ध अन्त्यलाई आफ्नो कार्यकालको मुख्य  प्राथमिकता बताएका छन्। तर, नयाँ कूटनीतिक रणनीतिले यस वर्षको सुरुदेखि नै मुलुकको मध्यवर्ती प्रान्त मरिबमा युद्धका कारण मच्चिएको विनाशलीला अन्त्य हुने सम्भावना कमजोर
छ।

हुथी विद्रोहीहरू तेल खानीको प्रचुरता रहेको क्षेत्रमा विजयनजिक छन्। उनीहरूको विजयले यमनको सरकारी सेनालाई उत्तरी गढबाट हटाउनेछ। र, विद्रोही दलहरूलाई वार्ताको टेबुलमा फर्काउने सरकारको कोशिसमा धक्का दिनेछ।

‘हामीले पहिले नै एकपटक घर छोड्नुपरेको थियो,’ मरिब सहरमा बसोबास गर्ने थामारको पहाडी क्षेत्रका २१ वर्षीय विद्यार्थी हमास अल मुस्लिमले एक ह्वाट्सएप सन्देशमा भनेका छन्, ‘अहिले हामी रातभर ब्यालिस्टिक मिसाइलको आक्रमणबाट पीडित छौँ। र, ड्रोनले दिनभरि सहरमा उडान गर्दै निगरानी गरिरहेका हुन्छन्। म थाकिसकेको छु। तर, तिनीहरू लडाईंबाट थाकेका छैनन्। अब के बाँकी छ हामीले गुमाउन र तिनीहरूले प्राप्त गर्न?’