सर्वोच्च अदालतको आदेशपछि आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, फागुन २३ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सर्वोच्च अदालतको आदेशपछि सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। बैठक दिउँसो ४ बजे बस्नेछ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकलाई महत्वका साथ हेरिएको छ । सत्तारुढ दल नै दुई गुटमा विभाजन भइरहेको अवस्थामा सरकार र नेकपाकै अर्को गुट कसरी प्रस्तुत हुन्छ भन्ने विषय सबैको चासो बनेको हो। बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यतालिका छन्।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ उनले पेश गर्नेछन्।

यसै गरी, सभामुखले शोक प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।