नेकपा (एमाले) र समाजवादीबीच आज पनि वार्ता हुने, हिजोको वार्ता सकारात्मक

काठमाडौं, फागुन २८ : सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।

समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको वार्ता सकारात्मक भएको र आज पनि कार्यदलस्तरमा वार्ता जारी रहनेछ ।

एमालेबाट सुवास नेम्वाङ र डा राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा रहेका छन् । बिहिबारको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।