सिन्धुलीमा जीप दुर्घटना, चारको मृत्यु, सात घाइते

सिन्धुली, चैत ३ : सिन्धुलीमा आज दिउसो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सिन्धुली सदरमुकामबाट कमलामाई नगरपालिका ७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जीप दुर्घटना भएको हो।

दुर्घटनामा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र दुई वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मनिष दुर्गाका छोरा हुन्।

दुर्घटनामा सात जना घाइते भएका छन्। उनीहरुमध्ये चालक सहित दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको नगरपालिकाका मेयर खड्कबहादुर खत्रीले बताए। उनका अनुसार घुम्तीमा मोड्ने बेला जीप दुर्घटना भएको हो।