कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप तत्कालका लागि स्थगित

काठमाडौं, चैत ४ : कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप अभियान तत्कालका लागि स्थगित गरिएको छ। थप खोप आपूर्तिमा ढिलाइ भएपछि दोस्रो चरणको खोप अभियान केही समयका लागि स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले दोस्रो चरणमा फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालेको थियो। त्यस्तै, दोस्रो चरणअन्तर्गत नै ५५ देखि ६४ वर्षसम्मका व्यक्तिलाई खोप लगाउने तय गरेको थियो।

खोप आउन केही समय लाग्ने भएपछि तत्कालका लागि दोस्रो चरणको खोप अभियान स्थगित गरिएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए। अहिलेसम्म खोप लगाएका व्यक्तिलाई दोस्रो डोज दिन पनि थप नयाँ व्यक्ति खोप नलगाइने भएको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १६ लाख ५४ हजार ३५६ जनाले खोप लगाएका छन्। उनीहरुलाई दोस्रो डोज दिन पुग्ने गरी खोप रहेको उनले बताए।

सरकारले भारको सेरम इन्स्टिच्यूट अफ इन्डियाबाट ५० लाख डोज खोप खरिद गर्ने प्रस्ताव गरेको छ। तर, सेरमले कुनै जबाफ दिएको छैन। जसले गर्दा दोस्रो चरणको खोप अभियान स्थगित गर्नु परेको हो।

यस्तै, नेपालले सेरमबाट २० लाख डोज खोपका लागि भुक्तानी गरिसकेको छ। जसमध्ये १० लाख डोज खोप आएको छ भने १० लाख डोज आउन बाँकी छ।

विश्व बजारमा नै खोपको माग अत्याधिक भएका कारण सिरमले नेपाललाई खोप उपलब्ध गराउने सक्ने यकिन मिति र संख्या निर्क्योल गर्न नसकेको डा। पोखरेलले बताए । उनका अनुसार नेपालले हालसम्म ३ लाख बढी डोज खोप प्राप्त गरिसकेकाले कोभ्याक्स अन्तर्गत प्राप्त हुने खोपका लागि पनि केही सयम लाग्ने देखिएको छ ।

पहिलो डोज खोप लगाएकाहरुलाई भने वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिइने भएको छ। पहिलो डोज लगाएका व्यक्तिलाई तीन महिना भित्र खोप लगाइसक्ने मन्त्रालयले जनाएको छ।