सुशील कोइरालाका भाइ, विराटनगरका संस्थापक मेयर तथा कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडौं, चैत्र ५ : कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि उनलाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो । उपचारका लागि भर्ना गरेको २४ घण्टा पुग्न नपाउँदै कोइरालाकोे निधन भएको हो।

नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए। २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति बनेका कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा संविधानसभा सदस्य समेत भएका थिए ।  उनी राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्।

अशोक कांग्रेसका राजनीतिमा रहेका कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।

यसैबीच, कोइरालालाई श्रद्धान्जली दिन कांग्रेस सभापति देउवा विराटनगर जाने भएका छन् ।