बालुवाटारको संसदीय दल बैठकमा ओली पक्षका सांसद मात्र, नेपाल-खनाल पक्षले पछि नजाने निर्णय गरे

काठमाडौं, चैत ५ : एमाले ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सोही समूहका सांसद मात्र सहभागी भएका छन्।

बिहीबार बिहान १० बजे एमाले नेपाल-खनाल समूहले ललितपुर सानेपास्थित हेरिटेज होटेलमा आफ्नो समूहका सांसदको बैठक बोलाएको थियो। बैठकमा बालुवाटारमा हुने संसदीय दलको बैठकमा सहभागी हुने मत पनि आएको थियो।

‘बैठकमा पार्टी संसदीय दलको बैठक भएकाले सहभागी हुने मत आएको थियो। तर, पछि नजाने निर्णय भयो,’ नेपाल-खनाल समूहका एक सांसदले भने।

सोही समूहका अर्का सांसदले राष्ट्रिय कार्यकर्ता भेला प्रभावित हुने भएकाले संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय भएको बताए। भविष्यमा बोलाइने संसदीय दलको बैठकमा भने आफ्नो समूह पनि सहभागी हुने उनले संकेत गरे।

एमालेका ३८ सांसद नेपाल-खनाल समूहमा छन्। बाँकी ८२ सांसद ओली समूहमा खुलेका छन्।